close

पत्रिकाले फेक आईडीको स्टाटस राखेपछि बालेन भन्छन्- देशमा डिजिटल साक्षरताको हालत के होला ?

टेकपाना टेकपाना

साउन २४, २०८० ११:३

पत्रिकाले फेक आईडीको स्टाटस राखेपछि बालेन भन्छन्- देशमा डिजिटल साक्षरताको हालत के होला ?

काठमाडौं । ‘अन्नपूर्ण पोस्ट’, ‘नेपाल समाचार पत्र’ जस्ता राष्ट्रिय दैनिक पत्रिकाले नक्कली आईडीबाट भएको ट्वीट बालेन शाहकाे नाममा राखेपछि शाहले डिजिटल साक्षरतामाथि प्रश्न उठाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा पत्रिकाको फोटो राख्दै शाहले देशमा डिजिटल साक्षरताको हालत के होला भनी प्रश्न उठाएका हुन् ।

“देशका दुई राष्ट्रिय दैनिक पत्रिका ‘अन्नपूर्ण पोस्ट’ र ‘नेपाल समाचार पत्रले’ फेक आईडीको स्टाटस मेरो भनेर हाल्छ भने सोच्नुस् देशमा डिजिटल लिटरेसीको हालत के होला ?,” उनले लेखेका छन् ।

अन्नपूर्ण पोस्टले स्टाटस बालेन शाह (प्यारोडी) (@balenshahh) एक्स अकाउन्टबाट लिएको उल्लेख गरेको छ भने नेपाल समाचारपत्रले एक्सको पहिलेको चराको आइकन राखेर बालेन शाह लेखेको अकाउन्टबाट साभार गरिएको उल्लेख गरेको छ ।

यद्यपि उक्त पोस्ट अन्नपूर्ण पोस्टले साभार गरेकै अकाउन्टबाट लिइएको देखिन्छ । बालेन शाह प्यारोडी भनेर राखिएको उक्त एक्स ह्यान्डलमा ब्लु टिक समेत रहेको छ ।

तर, एक्समा ब्लु टिक हुँदैमा त्यो अकाउन्ट आधिकारिक हो भन्ने हुँदैन । किनभने ट्वीटरका रूपमा परिचित एक्समा जसले पनि शुल्क तिरेर ब्लु टिक लिन सक्छन् । 

 

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १६:३३