close

टेरामोक्स आवश्यक छैन, सरकारले जबरजस्ती लागू गर्न खोज्दैछः गोकुल बास्कोटा

टेकपाना टेकपाना

साउन २७, २०८० १०:८

टेरामोक्स आवश्यक छैन, सरकारले जबरजस्ती लागू गर्न खोज्दैछः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले जबरजस्ती दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) कार्यान्वयनमा ल्याउन लागेको आरोप लगाएका छन् । टेरामोक्स प्रणाली नेपालमा आवश्यक नभएको र कानून तथा सर्वोच्चको फैसलाका कारण पनि कार्यान्वयनमा ल्याउन नसकिने भएपनि सरकारले किन जाेड गरिरहेकाे छ भन्दै बास्कोटाले प्रश्न गरे ।

शुक्रबार एक एक्स पाेस्ट गर्दै ​उनले टेलिकममा स्मल सेलको नाटक मञ्चन भइरहेको र त्यसमा अर्बौं खर्च गर्ने काम भइरहेकाे धारणा राखे । टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रणाली राख्न खाेजेकाे छ । तर नेपाल टेलिकम र एनसेल दुवै सेवाप्रदायक टेरामाेक्स कार्यान्वयनमा इच्छुक छैनन् ।

पूर्वमन्त्री बास्कोटाले बुल्गेरियामा अमेरिकाले ६ वर्षअघि राखिदिएको थोत्रो स्याटेलाइट सरकारले किन्न खोजेको भन्दै प्रश्नसमेत उठाए ।

‘बुल्गेरियामा अमेरिकाले ६ वर्षअधि राखिदिएको कवाड स्याटेलाइट नेपाल सरकार किन किन्न खोज्दै छ ? टेरामोक्स प्रणाली जो आवश्यक देखिँदैन र कानून तथा सर्वोच्चको फैसलाका करण कार्यान्वयनमा ल्याउन सकिँदैन, किन ल्याउन जोड गर्दैछ ? टेलिकममा स्मल सेलको नाटक किन मञ्चन हुँदैछ ? तिनमा अर्बौं खर्च किन गरिँदै छ ?

पछिल्लो अध्यावधिक: साउन २७, २०८० १०:१६