close

प्रहरीले अटोचालकलाई लछारेको भिडिओ सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

साउन २९, २०८० १८:२०

प्रहरीले अटोचालकलाई लछारेको भिडिओ सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

 

काठमाडौं । केही दिनयता टिकटक, फेसबुक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमा प्रहरीले सर्वसाधारणलाई लछारेको जस्तो देखिने भिडिओ भाइरल छ । भिडिओमा बर्दीवाल प्रहरी जवान र सेतो गन्जी तथा निलो कट्टु लगाएका सर्वसाधारणबीच झगडा भएको जस्तो देखिन्छ ।

ती सर्वसाधारण केहीबेर प्रहरीसँग जाइलाग्छन् र अन्तिममा अटोको अघि सडकमै लम्पसार परेर पल्टिन्छन् । उक्त भिडिओमा सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको व्यवहारमाथि प्रश्न उठाइरहेका छन् ।

केहीले प्रहरीको ज्यादती भएको भनेका छन् भने केहीले ती व्यक्तिले गल्ती गरेकै भएर प्रहरीले त्यसो गरेको हुनसक्ने अनुमान गरेका छन् ।

सुमन रिपोर्ट ह्यान्डलबाट एक्समा भिडिओ पोस्ट गर्दै एक व्यक्तिले लेखेका छन्, “भरतपुर ट्राफिक कार्यालय अगाडि ट्राफिक प्रहरीद्वारा अटो चालकमाथि भएको दुर्व्यवहार भन्दै सामाजिक सञ्जालमा यो भिडिओ आइरहेको छ । प्रहरीको मुस्कान सहितको सेवा यही हो ?” उनले सोही पोस्टमा नेपाल प्रहरी र हेलो सरकारलाई मेन्सन समेत गरेका थिए ।

हेलो सरकारले पनि नेपाल प्रहरीको आधिकारिक ह्यान्डल मेन्सन गर्दै सत्यतथ्य छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको थियो ।

सर्वसाधारणले सामाजिक सञ्जालमा उठाएको विषयलाई सम्बोधन गर्दै नेपाल प्रहरीले स्पष्टीकरण दिएको छ । सोमबार एक पोस्ट राख्दै प्रहरीले उक्त घटना शनिबार भएको बताएको छ ।

प्रहरीका अनुसार भिडिओमा देखिएका सर्वसाधारण चितवन, कालिका नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका १८ बस्दै आएका ४२ वर्षीय देउ कुमार डुम्जन हुन् । उनले मादक पदार्थ सेवन गरि अटो चलाउँदै आइरहेका थिए ।

अटो चलाउनै नसक्ने अवस्थामा रहेका डुम्जनलाई ड्युटीमा खटिएको ट्राफिक प्रहरीले सम्भावित दुर्घटनालाई रोक्न उनको अटो नियन्त्रणमा लिन खोजेका थिए । उनले अटो दिन नमानेपछि जबरजस्ती अटो चलाउन खोजे । त्यसपछि प्रहरी र डुम्जनबीच धकेला धकेल भएको थियो ।

“तत्पश्चात निजको श्रीमती सरिता तामाङ बोलाई उहाँकै जिम्मा लगाई पठाइएको जानकारी गराउँदछौ,” नेपाल प्रहरीले भनेको छ । 

पछिल्लो अध्यावधिक: साउन २९, २०८० १८:२०