close

तीन भाषामा प्रसारण हुने सिरिज ‘ब्रह्माण्ड’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममा आउँदै*

टेकपाना टेकपाना

भदौ ६, २०८० १६:२१

तीन भाषामा प्रसारण हुने सिरिज ‘ब्रह्माण्ड’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममा आउँदै*

काठमाडौं । तीन भाषामा प्रसारण हुने नेपाली सिरिज ‘ब्रह्माण्ड’ 'कान्तिपुर सिनेमाज' नामको ओटीटी प्लेटफर्ममा सार्वजनिक हुने भएको छ । मंगलबार विभिन्न तीन भाषामा वेब सिरिजको टिजर सार्वजनिक गर्दै कान्तिपुर फिल्म एकेडेमीले सो सिरिज छिट्टै ओटीटी प्लेटफर्ममा आउने घोषणा गरेको हो ।

नेपाली, हिन्दी र अङ्ग्रेजी गरी तीन भाषामा प्रसारण हुने ‘ब्रह्माण्ड’ वेब सिरिज कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले निर्माण गरेका हुन् । यसमा अर्पण थापा, सुनिल थापा, राजन खतिवडा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, अनुप बराल, सरिता गिरी, सुरज बिस्ट, विशाल पहाडी लगायतका कलाकार रहेका छन् ।

टेकपानासँग कुरा गर्दै कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पुरीले यो सिरिज पौराणिक कथा र सस्पेन्स ड्रामा विधामा तयार पारिएको बताए । “नाम ब्रह्माण्ड भए पनि यसमा धेरै कथा छन् । केही धर्मका, केही परिवारका, केही परिवार तथा समाजका कुराहरू ओगटिएका छन् ,” उनले भने ।

ब्रह्माण्ड वेब सिरिजको पहिलो सिजन अन्तर्गत आठ ओटा श्रृङ्खला (एपिसोड) सार्वजनिक गर्न लागिएको छ । जसमा हरेक एपिसोड औसतमा एक घण्टाको हुनेछ ।

“हामीले यति सिजनसम्म बनाउने भन्ने योजना बनाएका छैनौं,” पुरीले भने, “आठ ओटा एपिसोडपछि यसलाई रुचाइयो भने हामी नयाँ सिजनमार्फत नयाँ सिरिज ल्याउनेछौं ।”

पोस्ट प्रडक्सनको चरणमा रहेको यो वेब सिरिज ओटीटी प्लेटफर्म सार्वजनिक भएपछि त्यसैबाट प्रसारण हुनेछ । यसका लागि सबैभन्दा पहिले ओटीटी प्लेटफर्म सर्वजनिक गर्ने र त्यसपछि सो प्लेटफर्मबाट ब्रह्माण्ड लगायत अन्य वेब सिरिज, फिल्म, डकुमेन्टी स्ट्रिमिङ गर्ने उनको भनाइ छ ।

उनका अनुसार असोज २६ गते (अक्टोबर १३) कान्तिपुर सिनेमाज र वेब सिरिज सँगसँगै सार्वजनिक गर्ने तयारी रहेको छ ।

कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममा वेब सिरिज, फिल्म, डकुमेन्ट्री मासिक सब्स्क्रिप्सन मोडेलमा हेर्न सकिनेछ । यसका लागि एउटा अकाउन्टका लागि २४९ रुपैयाँ शुल्क तोकिएको छ । यदि दुई ओटा डिभाइसमा अकाउन्ट लगइन गरेर हेर्नुपर्‍यो भने ३४९ रुपैयाँ, तीन ओटा डिभाइसका लागि ४९९ रुपैयाँ लाग्ने पुरीले बताए ।

“सुरुमा न्यूनतम २४ घण्टाको प्रिमियम कन्टेन्ट हुन्छ,” पुरीले भने, “त्योभन्दा पछि हरेक हप्ता शुक्रबार शुक्रबार एउटा एउटा वेब सिरिज अथवा नयाँ फिल्म सार्वजनिक गर्छौं ।”

२४ घण्टाको प्रिमियम कन्टेन्ट अन्तर्गत ब्रह्माण्डको तीन ओटा एपिसोड, मिस स्कार्लेटको तीन घण्टा, लभ सूत्रको तीन घण्टा, चार-पाँच ओटा फिल्म, अवार्ड जितेका शर्ट फिल्म सार्वजनिक हुनेछन् ।

एप सार्वजनिक भएपछि यसलाई एन्ड्रोइड तथा आईओएस डिभाइसमा इन्स्टल गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १०:७