close

मेसेन्जरमा अब डिफल्ट रूपमै इन्ड-टु-इन्ड इन्क्रिप्सन उपलब्ध हुने

टेकपाना टेकपाना

भदौ ६, २०८० १७:२८

मेसेन्जरमा अब डिफल्ट रूपमै इन्ड-टु-इन्ड इन्क्रिप्सन उपलब्ध हुने

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२३ को अन्त्यसम्म मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन डिफल्टका रूपमा लागू गर्ने भएको छ । कम्पनीले मंगलबार एक ब्लग लेख्दै यसबारे जानकारी दिएको हो । 

कम्पनीले मेसेन्जरका लागि यो फिचर ल्याउन तयारी गरेको केही वर्ष भइसकेको छ । अहिले वैकल्पिक वा प्रयोगका हिसाबमा मात्र यो फिचर उपलब्ध छ ।

मेटाले 'सिक्रेट कन्भरसेसन' मोड सन् २०१६ मा लञ्च गर्दै इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गरेको थियो । सन् २०२१ मा उक्त फिचरलाई भोइस तथा भिडिओ कलमा विकल्पका रूपमा दिइएको थियो । साथै जनवरी २०२२ बाट यही फिचर ग्रुप च्याटमा विकल्पका रूपमा मेटाले उपलब्ध गराएको थियो । व्यक्तिगत च्याटका लागि भने अगस्ट २०२२ बाट यो फिचर सुरु गरेको थियो ।

कम्पनीले मेसेन्जरका लागि इन्क्रिप्सन फिचर बनाउन सर्भर आर्किटेक्चरलाई परिमार्जन गर्ने, च्याट हिस्ट्री सुरक्षित गर्न ‍नयाँ विधिहरू विकास गर्ने जस्ता केही प्राविधिक काम भइरहेकाे उल्लेख गरेकाे छ । तर मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा भने यो फिचर सफल रूपमा लागू भइसकेको छ ।

पछिल्लो समय प्रयोगकर्ताहरूको च्याटमा अनधिकृत पहुँच रोक्न मेटालाई यो फिचर अनिवार्य लागू गर्न बढ्दो दबाब परिरहेको छ । त्यस्तै मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू गरेपछि इन्स्टाग्रामको डाइरेक्ट मेसेज (डीएम) मा पनि उही फिचर ल्याउने मेटाकाे तयारी छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १७:४१