खुट्टा भाँच्ने अभिव्यक्ति भाइरल भएपछि मन्त्रीको जवाफ- ‘ठेकेदारलाई बचाउन नै दबाब दिएको हुँ’
असार ४, २०८३ १६:४६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भनी दिएको आफ्नो विवादास्पद अभिव्यक्तिको बचाउ गर्दै संसद्मा स्पष्टीकरण दिएका छन् । केही दिनअघि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-मलेखु खण्डको अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिन’ दिएको निर्देशन सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री लम्सालले आफ्नो बचाउ गरेका हुन् ।
मन्त्रालयगत बजेट छलफलका क्रममा प्रतिपक्षी एमालेका सांसद ऐन महरले मन्त्रीको धम्कीपूर्ण भाषामाथि प्रश्न उठाउँदै स्पष्टीकरण मागेका थिए ।
“ठेकेदारको खुट्टा भाँच्ने आदेश कानुन बमोजिम थियो कि थिएन ? दाहिने खुट्टा भाँच्ने हो कि देब्रे ? मन्त्रीको हैसियतमा यस्तो आदेश दिन मिल्छ ? ठेकेदारलाई मन्त्रालयमा बोलाएर धाकधम्की दिने कुरा कानुन बमोजिम थियो कि थिएन ?,” महरले प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री लम्सालले आफ्नो मनसाय कसैलाई शारीरिक चोट पुर्याउने नभई केवल काम गराउने मात्र रहेको दाबी गरे । उनले भने, “ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो । मेरो इन्टेन्सन त्यो होइन । इन्टेन्सन काम गरोस् भन्ने हो । नितान्त काम गरोस् भन्ने हो ।”
मन्त्री लम्सालले ठेकेदारहरूलाई कारबाही गर्दा उनीहरूको सर्वस्व सकिने हुनाले उनीहरूलाई जोगाउन नै आफूले कडा शब्द प्रयोग गरेको तर्क गरे ।
उनले भने, “उहाँहरुले काम गर्नुभएन भने हामीले रद्द गर्नुपर्छ नि टेण्डर । रद्द भयो भने त उहाँहरुको त तीन सात पुस्ते सकिन्छ । किनभने बैंक ग्यारेन्टी थुत्छ, बैंक ग्यारेन्टी फर्स लोन हुन्छ, त्यो त तुरुन्तै भुक्तानी गर्नुपर्छ । उनीहरूको भएको सम्पत्ति भनेको उनीहरूले बैंक ग्यारेन्टी रिलेसनको अथवा बिजनेसको आधारमा पनि लिएको हुन सक्छ, धितो नहुन सक्छ ।”
उनले थपे, “कसैलाई गाली गर्न मनै छैन नि । काम गर्दियोस् सुरु सुरु... खुरु खुरु काम गरिदिनुभयो भने त हामी चुपचाप लागेर बस्छौँ नि, खुसी हुन्छौँ । त्यो हो, आशय यत्ति हो । हामीलाई उहाँहरुलाई बचाउनको लागि नै त्यस्तो गरेको हो ।”
मन्त्री लम्सालले बिजुलीको पोल सार्न ढिलाइ गर्ने ठेकेदारलाई सार्वजनिक स्थलबाटै ‘खुट्टा भाँचिदिनू’ भन्दै प्रहरी र प्रशासनलाई निर्देशन दिएका थिए । मन्त्रीको अभिव्यक्तिको आलोचना भइरहेको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८३ १८:०
