काठमाडौं । भारतले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान ३ अवतरण गरेर नयाँ इतिहास रचेको छ । १४ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-३ झन्डै ४० दिनपछि बुधबार नेपाली समय अनुसार साँझ ६ः१८ मा चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको हो ।
यससँगै भारत सफलतापूर्वक चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौंथो र दक्षिण धुव्रमा अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यसअघि अमेरिका, तत्कालीन साेभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरिसकेका छन् ।
यो परियोजनाको मुख्य उद्देश्य नै चन्द्रमामा पानीको बरफको फेला पार्नु हो । जसले निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुन्छ वा हुँदैन भन्ने निश्चित गर्छ । चन्द्रमाको दक्षिण ध्रुव सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको वैज्ञानिकले जनाएका छन् ।
चन्द्रयान महाअभियान सफल भएसँगै भारतीयहरूले खुसी साटासाट गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले इतिहास रचिएको यो पल अविस्मरणीय रहेको भन्दै मिसनमा संलग्न सबैलाई धन्यवाद र बधाई दिए ।
''हामीले भविष्यका लागि कैयौं ठूला र महत्त्वकांक्षी लक्ष्य तय गरेका छौं । छिट्टै नै सूर्यको विस्तृत अध्ययन गर्नका लागि इसरो आदित्य एल वान मिसन प्रक्षेपण हुन गइरहेको छ । यसपछि शुक्र ग्रह पनि इसरोको लक्ष्यमध्येको एक हो,'' उनले लाइभ भिडिओ कन्फ्रेसमार्फत भने ।
गगनयानको माध्यमबाट देशले आफ्नो पहिलो ह्युमन स्पेस फ्लाइट मिसनका लागि पनि पूरै तयारी का साथ जुटेको उनले बताए । ''विज्ञान र प्रविधि देशको उज्ज्वल भविष्यको आधार हो । त्यसैले आजको यस दिनलाई देश सदैव सम्झिरहने छ । यो दिनले हामी सबैलाई उज्जवल भविष्यतर्फ अघि बढ्न प्रेरित गर्नेछ । यो दिनले हामीलाई आफ्नो संकल्प पूर्ण बनाउने बाटो देखाउनेछ । यो दिन हारबाट शिक्षा लिएर जीत कसरी हाँसिल गर्न सकिन्छ भन्ने भन्ने कुराको प्रमाण हो,'' उनले भने ।
Chandrayaan-3 Mission:
'India🇮🇳,
I reached my destination
and you too!'
: Chandrayaan-3
Chandrayaan-3 has successfully
soft-landed on the moon 🌖!.