close

चन्द्रमामा १५ दिन घाम नलाग्ने भएपछि भारतको चन्द्रयान-३ गयो निदाएको मुद्रामा*

टेकपाना टेकपाना

भदौ १९, २०८० १५:२

चन्द्रमामा १५ दिन घाम नलाग्ने भएपछि भारतको चन्द्रयान-३ गयो निदाएको मुद्रामा*

काठमाडौं । चन्द्रमामा १५ दिन सूर्यास्त हुने भएपछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयानको ल्यान्डर र रोभर 'स्लिप मोड' (निन्द्राको मुद्रा) मा राखेको छ । सोमवार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इसरोले विक्रम ल्यान्डर र प्रज्ञान रोभर एकसाथ स्लिप मोडमा राखेको जानकारी दिएको हो ।

इसरोले सोमवार भारतीय समय अनुसार बिहान ८ बजे विक्रम र प्रज्ञान एकै ठाउँमा ल्याएर स्लिप मोड अन गरेको बताएको छ । ती दुई उपकरणमा सञ्चित सौर्य ऊर्जा समाप्त भएमा उपकरण नै बन्द हुनेछ । 

त्यस्तै ल्यान्डरमा रहेका पे लोड पनि स्विचअफ गरेर राखिएका छन् । इसरोले अब चन्द्रमामा सूर्य उदायएपछि प्रज्ञान र विक्रम ल्यान्डर २२ सेप्टेम्बरमा मात्रै पुनः सञ्चालनमा आउने अपेक्षा गरेको छ । विशेषगरी ल्यान्डर र रोभरले काम गर्न त्यसमा राखिएका ब्याट्री चार्ज हुनुपर्छ । ब्याट्री सौर्य ऊर्जा हुँदा मात्र चार्ज हुने भएकाले त्यसलाई स्लिप मोडमा राख्नुपरेको इसरोले स्पष्ट पारेको छ । 

चन्द्रमा १५ दिन घाम लागेर उज्यालो हुन्छ भने १५ दिन अन्धकार बन्छ । चन्द्रमामा घाम लागेको अवधिलाई पृथ्वीमा शुक्लपक्ष र अँध्यारो रहेको समयलाई कृष्णपक्ष भनेर बुझिन्छ । 

चन्द्रयानले बोकेको विक्रम ल्यान्डरभित्र रहेको प्रज्ञान रोभरले अगस्ट २३ मा मात्र चन्द्रमाको सतह छोएको थियो । २३ अगस्टमा सफलतापूर्वक चन्द्रमाको दक्षिणी धुव्रमा ल्यान्डर अवतरण गरेसँगै भारत चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौथो र दक्षिणी धुव्रमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो राष्ट्र बनेको थियो । इसरोले हाल प्रज्ञान रोभरले पठाएका विभिन्न सूचनाहरू सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्दै आएको छ ।

*शीर्षकमा मुद्रा हुनुपर्नेमा मुन्द्रा हुन गएकाले सच्याइएको छ । -स. 

 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १६:५४