close

टेलिकमका इन्टरनेट ग्राहक बढे पनि नियामकको रिपोर्टमा घटेको तथ्याङ्क, गुनासोपछि सच्याइयो खुसुक्क

टेकपाना टेकपाना

भदौ ६, २०८० २०:२३

टेलिकमका इन्टरनेट ग्राहक बढे पनि नियामकको रिपोर्टमा घटेको तथ्याङ्क, गुनासोपछि सच्याइयो खुसुक्क

 

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधकरणले नेपाल टेलिकमका इन्टरनेट ग्राहक बढ्दा समेत घटेको तथ्याङ्क राखेको पाइएको छ । भर्खरै प्रकाशित गरेको टेलिकम्युनिकेसन्स इन्डिकेटर्समा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीका इन्टरनेट ग्राहक वैशाखमा १० हजार २६२ सङ्ख्यामा घटेको भन्दै देखाइएको तथ्याङ्क खुसुक्क सच्याइएको हो । '

टेकपानामा मङ्गलबार मात्रै वर्ल्डलिङ्क, डिशहोम, टेलिकम र सुबिसुका ग्राहक घट्दा नेपालको इन्टरनेट पहुँच ऋणात्मक शीर्षकको समाचार प्रकाशित भएको थियो । तर टेलिकमले सो अवधिमा आफ्ना ग्राहक भने थपिएको जनाएको छ । कम्पनी स्रोतका अनुसार टेलिकमले पठाएको तथ्याङ्क प्राधिकरणको प्रतिवेदनमा गलत प्रविष्ट हुँदा त्यसो हुन गएको बतायो ।

"वैशाखमा हाम्रा ग्राहक घटेका छैनन्," स्रोतले भन्यो, "हामीले प्राधिकरणलाई समेत त्यसको जानकारी दिएपछि उहाँहरूले अहिले उक्त त्रुटि सच्याउनु भएको छ ।" प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले मानवीय त्रुटिका कारण यस्तो हुन पुगेको प्रतिक्रिया दिए ।

"अहिले म्यानुअल किसिमले तथ्याङ्क सङ्कलन र प्रविष्ट गर्ने काम हुँदै आएको छ," उनले भने, "यस किसिमको त्रुटि हुन नदिन र यथार्थ परक तथ्याङ्क सङ्कलन गर्न स्वचालित तथा सफ्टवेयरमा आधारित प्रणाली आवश्यक पर्छ । टेरामोक्स सिस्टम त्यही प्रयोजनका लागि राख्न खोजिएको हो ।"

प्राधिकरणले सच्याएको तथ्याङ्कमा टेलिकमका फिक्स लाइन इन्टरनेटका ग्राहक गत चैतको तुलनामा वैशाखमा १४२४ सङ्ख्यामा बढेको देखिन्छ । यो प्राधिकरणले यसअघि राखेको तथ्याङ्कभन्दा ११ हजार ६८६ ले बढी हो । 

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० २०:२३