काठमाडौँ । पब्जी माेबाइलकाे दक्षिण एसिया स्तरको ठूलो प्रतियोगिता 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३' आजदेखि सुरु हुँदैछ ।
कूल २० टोली सहभागी यो प्रतियोगितामा नेपालका पाँच नेपाली टिम खेल्दैछन् । यसअन्तर्गत ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ रहेका छन् ।
त्यस्तै मङ्गोलियाबाट ६ टिम, बङ्गलादेशबाट एक र पाकिस्तानबाट आठ टिम पनि प्रतियाेगितामा सामेल छन् ।
प्रतियाेगिताकाे लिग चरणको खेल २४ देखि २७ अगस्टसम्म चल्नेछ । जसमा हरेक टिमले दिनको पाँच गेमका दरले २० गेम खेल्नेछन् ।
लिग स्टेजको खेल सकिँदा अङ्क तालिकामा शीर्ष १६ भित्र रहने टिमले यो प्रतियोगिताको अन्तिम चरण अर्थात् फाइनलमा स्थान बनाउनेछन् । फाइनल अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म चल्नेछ ।
यो प्रतियोगिताको कूल पुरस्कार राशि एक लाख ५० हजार डलर (करिब दुई करोड रुपैयाँ ) राखिएको छ । जसमध्ये विजेताले करिब २६ हजार डलर (करिब ३४ लाख २२ हजार रुपैयाँ ) हात पार्नेछ ।
साथै प्रतियोगितामा शीर्ष चारभित्र रहने टिमले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएसजीसी) २०२३’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।
यो प्रतियोगिता खेल्दै गरेका दुई टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ र ‘एगोन आइएट ई-स्पोर्ट्स’ले ‘पीएसजीसी २०२३’ खेल्ने पक्का भएसकेको छ । यसै कारणले नेपाली टिमहरूलाई पनि राम्रो गेम खेल्दै ‘पीएसजीसी २०२३’ खेल्ने केही सहज अवसर रहेको छ ।
विशेष गरी पीएसजीसी २०२२ खेलिसकेका नेपाली टिमहरु ‘टीटूके ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’लाई पुन: पीएसजीसीमा छनोट भई आफ्नो शाख बचाउने अवसर छ ।
‘रअ ई-स्पोर्ट्स’ र ‘लियो ई-स्पोर्ट्स’लाई भने छनोट हुँदै नयाँ इतिहास बनाउने अवसर रहेको छ ।
खेल आज बेलुका ५:४५ देखि ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।