काठमाडौं । प्रभावकारी नतिजा दिन गुगलले आफ्नो जेनेरेटिभ एआई प्लेटफर्म बार्डमा अपेडेट जारी गरेको छ । जिमेल, म्याप्स, युट्युब जस्ता गुगल सर्भिसमा बार्डलाई लिङ्क गर्दै गुगलले नयाँ अपडेट ल्याएको हो ।
ओपनएआईको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न च्याटमा आधारित बार्ड सार्वजनिक गरेको गुगलले नयाँ अपडेटलाई ‘बार्ड एक्सटेन्सन’ नाम दिएको छ ।
गुगल फ्लाइट, गुगल होटल, गुगल म्याप्स, गुगल वर्कस्पेस, युट्युबजस्ता आफ्ना अन्य विभिन्न प्लेटफर्महरूलाई गुगलले नयाँ अपडेट मार्फत बार्डमा जोडेको छ
यससँगै जिमेलमा आएको मेलको सारांश लेख्ने, यात्राको योजना बनाउने, वर्कस्पेसमा भएका डकुमेन्टहरूको सारांश लेख्ने जस्ता काम प्रयोगकर्ताले बार्डमा नै गर्न सक्नेछन् ।
यो अपडेटले बार्डलाई ‘सबैभन्दा सक्षम’ भर्सन बनाएको दाबी गर्दै गुगलले यसबाट अन्य एपको पनि अनुभव गर्न पाइने जनाएको छ । त्यस्तै यो अपडेटसँगै प्रयोकर्ताको गोपनीयतालाई पनि बार्डमा उत्तिकै प्राथमिकता दिएको गुगलको भनाइ छ ।
नयाँ अपेडटको अनुभव पाउन प्रयोगकर्ता स्वयं आफैंले गुगललाई ‘पर्मिसन’ दिनुपर्ने हुन्छ । यस अगाडिको अपडेटहरूमा गुगलले बार्डमा हिन्दी सहित ४० भाषामा बोलेरै कुराकानी गर्न सकिने र तस्वीर मार्फत प्रश्न सोध्न सकिने फिचर ल्याएको थियो ।