close

पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, भोलिदेखि ३ दिनसम्म फाराम भर्न सकिने

टेकपाना टेकपाना

असोज १६, २०८० ८:६

पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, भोलिदेखि ३ दिनसम्म फाराम भर्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गरिएको जानकारी दिएको हो ।

संस्थानका डीन शशीधरराम जोशीले हस्ताक्षर गरेको परीक्षा बोर्डको सूचनामा शैक्षिक सत्र २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना खुलाइएको उल्लेख छ ।

सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको फाराम भोलि मङ्गलवार देखि तीन दिनसम्म भर्न सकिनेछ । उक्त थप गरिएको समयमा प्राप्त हुने आवेदन दिने समेतका विद्यार्थीका लागि यही २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुने जनाइएको छ ।

यसअघि फाराम भरिसकेका विद्यार्थीहरूले भने प्रवेश परीक्षाको फाराम पुनः भरिरहनु पर्ने छैन । आइतवार मात्रै संस्थान र विद्यार्थी सङ्गठनका प्रतिनिधिबीचको छलफलबाट बीई र बी आर्क विषयको भर्ना कार्यक्रम शुल्क बृद्धि नगरी पुरानै शुल्कमा नयाँ भर्ना गर्ने निर्णय भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० ८:६