close

४५० किमि रेञ्जमा चेरीको ओमोडा ईभी नेपाल आउँदै, बीवाईडी एट्टो ३ र जेडएस ईभीसँग प्रतिस्पर्धा गर्ने

टेकपाना टेकपाना

असोज २२, २०८० १६:१४

४५० किमि रेञ्जमा चेरीको ओमोडा ईभी नेपाल आउँदै, बीवाईडी एट्टो ३ र जेडएस ईभीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । चिनियाँ सवारी निर्माता कम्पनी चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी नेपाल आउने भएको छ । नेपालका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल प्रालिले ओमोडा मोडेलका विद्युतीय गाडी नेपाल भित्र्याउन लागेको हो । 

चेरी अटोमोबाइल कम्पनीले ईभी अन्तर्गत मोडेल नाइन, मोडेल सेभेन र मोडेल फाइभ उत्पादन तथा बिक्री गर्दै आएको छ । जसमा मोडेल नाइनलाई कम्पनीले फ्ल्यागशिप मोडेल, मोडेल सेभेनलाई इन्टेलिजेन्ट तथा लक्जरी र मोडल फाइभलाई फेसन, ग्रिन एन्ड टेक मोडेलका रूपमा परिभाषित गरेको छ । 

नेपालमा कुन कुन मोडेल आउँछन् भन्ने कम्पनीले खुलाइसकेको छैन । यद्यपि ओमोडा मोडेल फाइभ १०० किलोवाट आवरभन्दा बढी क्षमताको मोटर पावर र १०० किलोवाट आवरभन्दा कम क्षमताको मोटर पावरका रूपमा भित्र्याउने सङ्केत दिइएको छ । मूल्य नखुलाइएको भए पनि यो मोडेल किफायती मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यो मोडेलको ग्राउन्ड क्लियरेन्स नेपालको बाटोका लागि पर्याप्त हुने कम्पनीको दाबी छ । कम्पनीले यी मोडेलमा प्रयोग हुने ब्याट्री बीवाईडीको प्रविधिमा निर्माण गरेको छ । 

विश्वभर आफ्नो प्रतिस्पर्धा बीवाईडी एट्टो थ्रीसँग रहेको कम्पनीको भनाई छ । यी गाडीमा २४.६ इन्चको स्क्रिन रहेको छ । सुरक्षाको सवालमा ओमोडामा सात ओटा एयरब्याग रहेका छन् । 

चेरी अटोमोबाइलले विभिन्न छ प्लेटफर्ममा गाडी निर्माण गर्दै आएको छ । जसअन्तर्गत ईभीका लागि कम्पनीले प्रोफेसनल न्यु ईनर्जी प्लेटफर्म र प्रोफेसनल प्योर इलेक्ट्रिक प्लेटफर्म प्रयोग गरिरहेको छ । 

चेरी ग्रुपका विश्वभर पाँच ओटा ग्लोबर आर एण्ड डी (अनुसन्धान तथा विकास) केन्द्र रहेका छन् । ८० भन्दा बढी देश तथा क्षेत्रमा विस्तार भएको यो कम्पनीमा विश्वभरका नौ हजार बढी इन्जिनियर कार्यरत छन् । विश्वर यो कम्पनीका १५ सय बढी सेल्स तथा सर्भिस आउटलेट छन् । 

चेरी अटोमोबाइलले आफूलाई स्वतन्त्र अनुसन्धान र विकास मार्फत अटोमोबाइलको महत्त्वपूर्ण कोर प्रविधिहरूमा महारत हासिल गर्ने चीनको पहिलो कम्पनी भएको दाबी समेत गर्दै आएको छ । 

चेरी अटोमोबाइलका प्रतिनिधिले सोमवार सञ्चार माध्यमसँगको कुराकानीमा यी मोडेलबारे विस्तृतमा केही समयपछि सार्वजनिक गरिने जनाएका छन् ।

गत मे महिनामा चीनमा सार्वजनिक भएको ओमोडा मोडेल फाइभ कत्तिको कस्टमाइज भएर नेपाल आउँछ भन्ने कुरा निश्चित भइसकेको त छैन । तर उक्त मोडेलको गाडीको रेञ्ज ४५० किलोमिटर रहेको छ । 

यसमा ६१ किलोवाट आवर क्षमताको ब्याट्री र १६५ किलोवाट क्षमताको मोटर छ । यो गाडीले शून्यदेखि १०० किलोमिटरको कति समात्न ७.८ सेकेन्ड लगाउने कम्पनीको दाबी छ । फास्ट चार्जरको सहायताले यो गाडी ३५ मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: असोज २२, २०८० १६:१४