काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ ।
आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले एक सूचना निकाल्दै लाइसेन्स लिएर मात्र रेडियो फ्रिक्वेन्सी डिभाइस प्रयोग गर्न अनुरोध गरेको हो ।
"नेपालमा वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ," सूचनामा भनिएको छ, "हाल विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत गरी लाइसेन्स लिएर आयात बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकिटकी लगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको भन्ने विषयमा यस सूचना तथा प्रसारण विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।"
लाइसेन्स/अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरू आयात बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न समेत विभागले निर्देशन दिएको छ । र, त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न विभागले सूचित गरेको छ ।
यदि लाइसेन्स नलिएरै विज्ञापन, आयात, बिक्री वितरण तथा प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।