प्र्याङ्क कल गरी शान्ति सुरक्षामा खलल पारेको भन्दै ललितपुरबाट पर्वतकी मन्दिरा गुरुङ पक्राउ
असार १५, २०८३ ९:६
ललितपुर । शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा ललितपुर प्रहरीले आइतबार एक युवतीलाई पक्राउ गरेको छ । ती युवतीलाई सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग गरी 'प्र्याङ्क भिडिओ' बनाउने नाममा हत्याको झुटो अफवाह फैलाएको आरोपमा लगाइएको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्लाको फलेवास-१० घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाङ्गाथलीस्थित युनाइटेड कोलोनी नजिकै डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा गुरुङ रहेकी छिन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, मन्दिराले मिति आइतबार बिहान अन्दाजी ६:०० बजेको समयमा आफ्नी साथी सुस्मिता जिरेललाई भिडिओ कल गरेकी थिइन् । उक्त भिडिओ कलमा उनले 'आफ्नो साथीलाई मारेको' भन्दै डरलाग्दो दृश्य देखाएकी थिइन् । दृश्यलाई यथार्थपरक बनाउन उनले आफ्नो हात र ओछ्यानमा रातो अबिर दलेर रगत जस्तो बनाएको अनुसन्धानबाट खुलेको छ ।
भिडिओ कलमा त्यस्तो विवत्स दृश्य देखेपछि आत्तिएकी सुस्मिताले तत्कालै जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरेकी थिइन् । हत्याको सूचना पाउनासाथ प्रहरी प्रभाग लुभुबाट तत्काल प्रहरी टोली खटिएर मन्दिराको कोठामा पुगी सर्च (खानतलासी) गरेको थियो ।
प्रहरी टोलीले कोठामा अनुसन्धान गर्दा त्यहाँ कुनै घटना नभएको, बरु हात र ओछ्यानमा अबिर दलेर प्र्याङ्क (ठट्टा) मात्र गरिएको फेला पारेको थियो ।
यसरी प्र्याङ्क भिडिओ बनाएर समाजमा झुटो अफवाह फैलाउने र शान्ति सुरक्षामा गम्भीर खलल पार्ने कार्य गरेको भन्दै प्रहरीले मन्दिरा गुरुङलाई तत्काल नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ ९:१२
