close

मोबाइल एपबाटै आफ्नो पुरानो फोनको मूल्य तय गरी आईफोन १५ सँग साट्न सकिने

टेकपाना टेकपाना

असोज २६, २०८० १६:४७

मोबाइल एपबाटै आफ्नो पुरानो फोनको मूल्य तय गरी आईफोन १५ सँग साट्न सकिने

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी नयाँ पुरानोले पुराना स्मार्टफोन आईफोन १५ सँग साट्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेननेक्स्ट अन्तर्गतका इभो स्टोरसँगको सहकार्यमा एपमार्फत पुराना फोनको मूल्याङ्कन गरी आईफोन १५ लिन सकिने सुविधा ल्याएको हो ।

ग्राहकको सहजताका लागि इभो स्टोरका सबै शाखामा नयाँ पुरानोको क्यूआरकोड राखिएको कम्पनीका संस्थापक अभिषेक अग्रवालले बताए । "नयाँ पुरानोको मोबाइल एप डाउनलोड गरेपछि उक्त क्यूआर कोड स्कयान गर्नु भयो भने पाँच मिनेटमै तपाईंको फोनको मूल्याङ्कन हुन्छ," उनले भने, "यसरी तय भएको मूल्य तपाईंलाई चित्त बुझेको खण्डमा सो रकम छुट पाउने गरी आईफोन १५ सिरिजका कुनै पनि फोन लिन सक्नु हुन्छ ।"

नयाँ पुरानोले बडा दशैंको असरमा पुराना फोन साट्न चाहने ग्राहकलाई तीन हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन दिने अफर समेत ल्याएको छ । नयाँ पुरानो मोबाइल एप डाउनलोड गरी आफ्नो मोबाइल नम्बर राखेर सहजै लगइन गर्न सकिन्छ ।

त्यसपछि काठमाडौं सहर छनौट गरिसकेछि एपले फोनको आवश्यक परीक्षणका लागि अनुमति दिएसँगै तपाईंले आफ्नो फोनको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गर्न सक्नु हुन्छ । ब्रान्ड, टच स्क्रिनको अवस्था, स्क्रिन रोटेसन, प्रोक्सिमिटी सेन्सर, भोलुम बटन, ब्याक कि, क्यामेरा र स्पिकरको अवस्था कस्तो छ भन्ने कुरा यो एपले आफैं जाँच गर्न सक्छ ।

त्यसपछि फोनको भौतिक अवस्था उदाहरणका लागि डिस्प्ले तथा टचस्क्रिन केरिएको वा धब्बा लागे नलागेको, चिरा परे नपरेको, स्क्रिनको सिसामा स्क्र्याच आए नआएको, साथमा बिल तथा एक्सेसरिज रहे नरहेको, वारेन्टी बाँकी भए नभएको, मोबाइलको बाहिरी भाग, एमडीएमएसको दर्ता जस्ता विवरण भने तपाईंले एपमा म्यानुअल रूपमा नै राख्नु पर्छ । त्यसपछि एपले तपाईंको मोबाइलको मूल्य कति आउँछ भन्ने जानकारी देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १६:४७