close

एक्स अकाउन्ट बनाउन अब पैसा तिर्नुपर्ने !

टेकपाना टेकपाना

कात्तिक १, २०८० ११:३४

एक्स अकाउन्ट बनाउन अब पैसा तिर्नुपर्ने !

काठमाडौं । न्युजिल्यान्ड र फिलिपिन्सका प्रयोगकर्ताले अब एक्स अकाउन्ट बनाउन शुल्क तिर्नुपर्ने भएको छ । बुधवार एक्समा पोस्ट गर्दै कम्पनीका मालिक एलन मस्कले शुल्क तिर्नुपर्ने नियम लागू भएको पुष्टि गरेका हुन् ।

हाल यी देशमा कम्पनीले उक्त फिचर परीक्षणका रूपमा सुरु गरेको जानकारी दिएको छ । यसको अर्थ अब न्युजिल्यान्ड र फिलिपिन्सका प्रयोगकर्ताले पैसा नतिरी अकाउन्ट बनाएमा पोस्ट पढ्न मात्र पाउनेछन् । ​त्यसबाहेकका अतिरिक्त फिचर जस्तै पोस्ट गर्ने, पोस्ट रिप्लाई, रिपोस्ट, पोस्ट वा बुकमार्क तथा शेयर गर्न भने एक डलर शुल्क तिर्नुपर्नेछ ।

“वास्तिविक प्रयोगकर्तालाई ब्लक नगरी बट्स (कम्प्युटरद्वारा सञ्चालित हुने नक्कली अकाउन्ट) नियन्त्रण गर्ने यो एक मात्र तरिका हो,” मस्कले लेखेका छन्, “यसले बट्सलाई पूर्ण रूपमा रोक्न सक्दैन । तर, प्लेटफर्मको दुरुपयोग गर्नबाट हजार गुणा गाह्रो बनाउँछ ।”

यसरी बनाइएको अकाउन्टमा अन्य प्रिमियम फिचर भने उपलब्ध हुने छैनन् । प्रिमियम फिचर जस्तै ब्लु टिक पाउने, पोस्ट एडिट गर्न सक्ने, लामो भिडिओ पोस्ट गर्न सक्ने, विशेष पोस्टमा रिप्लाई गर्न पाउने लगायतका फिचर प्रयोग गर्न प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने हुन्छ ।

अकाउन्ट बनाउन शुल्क तिर्नुपर्ने फिचर परीक्षणका रूपमा दुई देशमा लागू भएको हाे । अन्य देशमा यो फिचर कहिलेदेखि लागू हुन्छ, अनि फिलिपिन्स र न्युजिल्यान्डमा मात्र परीक्षण किन गरियाे भन्ने विषयमा स्पष्ट जानकारी बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० ११:४३