close

घट्यो सामसङ र ओप्पो स्मार्टफोनको बिक्री

टेकपाना टेकपाना

कात्तिक १३, २०८० १२:४९

घट्यो सामसङ र ओप्पो स्मार्टफोनको बिक्री

काठमाडौं । स्मार्टफोनको विश्व बजारमा सामसङ र ओप्पोले आफ्नो बजार हिस्सा गुमाएका छन् । आईडीसीको रिपोर्ट अनुसार २०२३ को तेस्रो त्रैमासिक अवधिमा दुई कम्पनीको स्मार्टफोन बिक्री घटेको हो ।

यद्यपि स्मार्टफोनको बजार हिस्सामा सामसङ अझै शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा एप्पल छ । त्यसपछि मात्र चिनियाँ ब्रान्डले स्थान बनाएका छन् । सामान्यत: नेपाल सहितका एसियाली मुलुक, अफ्रिका लगायतका क्षेत्रमा चिनियाँ स्मार्टफोन ब्रान्डको कब्जा रहँदै आएको छ ।

समग्रमा सन् २०२३ को तेस्रो त्रैमासिक अवधिमा थोरै मात्राले बजारमा स्मार्टफोनको बिक्रीमा गिरावट देखिएको छ । आईडीसी अनुसार उक्त अवधिमा कूल ३० करोड २८ लाख स्मार्टफोन शिपमेन्ट भएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशतले थोरै हो ।

घट्दो माग, मुद्रा स्फिर्ती, भू-राजनीतिक तनाव आदि कारणले बजारमा गिरावट देखिएको हो । मध्यपूर्व, ल्याटिन अमेरिका र जापान एवम् चीन बाहेकको एसिया प्रशान्त क्षेत्रमा भने स्मार्टफोन शिपमेन्ट बढेको छ । त्यसका साथै हाई-इन्ड फोनको बजार पनि उकासिंदो क्रममा छ ।

त्यसो त बजार हिस्साको मामिलामा सामसङ ब्रान्ड शीर्ष स्थानमा रहेको छ । सामसङको बजार हिस्सा यस वर्षको तेस्रो त्रैमासिक अवधिमा १९.७ प्रतिशत रहेको छ, जुन सबैभन्दा बढी हो । तर गत वर्षको तुलनामा यसमा ८.४ प्रतिशतको गिरावट देखिएको छ ।

यो सूचीमा एप्पल दोस्रो स्थानमा रहेको छ । एप्पलको तेस्रो त्रैमासिक अवधिमा बजार हिस्सा १७.७ प्रतिशत रहेको छ, जुन अहिलेसम्मकै धेरै हो । साथै यसमा गत वर्षको तुलनामा २.५ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्ता छन् शीर्ष ५ कम्पनी

सामसङ र एप्पलपछि तेस्रो स्थानमा चिनियाँ ब्रान्ड साओमी रहेको छ । साओमीको बजार हिस्सा १३.७ प्रतिशत रहेको छ, जसमा गत वर्षको तुलनामा करिब २.४ प्रतिशतको वृद्धि रहेको छ ।

साथै चौथो स्थानमा रहेको ओप्पोको बजार हिस्सा ८.९ प्रतिशत छ । तर यो कम्पनीको बजार हिस्सा भने गत वर्षको तुलनामा ६.५ प्रतिशतको गिरावट देखिएको छ ।

सूचीको पाँचौं स्थानमा ट्रान्जिसन कम्पनी रहेको छ, जस अन्तर्गत टेक्नो, इनफिनिक्स र आईटेल गरी तीन ओटा अन्य ब्रान्ड रहेका छन् । उक्त कम्पनीको बजार हिस्सा ८.६ प्रतिशत छ । यसले भने गत वर्षको तुलनामा ३५ प्रतिशतको वृद्धि हात पारेको छ । 

अन्य ब्रान्डका स्मार्टफोनको बजार हिस्सा ३१.४ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा -२.१ प्रतिशतले घटी हो । 

स्मार्टफोनको बजारमा सबैभन्दा ठूलो ६.३ प्रतिशतको गिरावट चीनमा देखिएको छ । त्यसपछि युरोप, जापान र अमेरिकामा क्रमशः ८.६ प्रतिशत, ५.३ प्रतिशत र १.१ प्रतिशतले ओरालो लागेको छ । तर मध्यपूर्वमा १८.१ प्रतिशत, ल्याटिन अमेरिकी देशहरूमा ८.२ प्रतिशत र जापान र चीन बाहेकका एसिया प्रशान्त क्षेत्रका देशहरूमा १.३ प्रतिशतको वृद्धि देखिएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८० १२:५९