close

आजदेखि सुरु भयो आईओईको प्रवेश परीक्षा, करिब १० हजार विद्यार्थी सहभागी

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १३:४५

आजदेखि सुरु भयो आईओईको प्रवेश परीक्षा, करिब १० हजार विद्यार्थी सहभागी

काठमाडौं । शुल्क विवादका कारण लामो समय रोकिएको स्नातक तह (बी.ई/बी.आर्क) को प्रवेश परीक्षा आजदेखि सुरु भएकाे छ । आन्दोलनरत पक्षसँग शुल्क विवादको समस्या सुल्झिएपछि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले प्रवेश परीक्षा सञ्चालन गरेको हो ।

कात्तिक १४ (आज) देखि कात्तिक १९ सम्म हुने प्रवेश परीक्षा पहिलो पटक दुई ठाउँमा सञ्चालन हुँदैछ । आईओई प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्यका अनुसार सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी), पुल्चोक ललितपुर र पश्चिमाञ्चल क्याम्पस, पोखरामा परीक्षा सञ्चालन हुनेछ ।

प्रवेश परीक्षामा नाै हजार ९०० विद्यार्थी सहभागी हुँदैछन् । कम्प्युटर विधिमार्फत लिइने परीक्षाको समयावधि दुई घण्टा ताेकिएकाे छ । परिक्षार्थीले एक अङ्क भारका ६० र दुई अङ्क भारका ४० प्रश्नहरूको उत्तर दिनु पर्नेछ ।

कूल पूर्णाङ्क १४० भएको यस परीक्षामा विद्यार्थीले गलत उत्तर लेखे १० प्रतिशत अङ्क घट्नेछ । नतिजा भने परीक्षा सकिएको दुई दिनपछि कात्तिक २१ मा हुनेछ ।

आईओईले शुल्क विवाद समाधान गर्दै चार वर्षे स्नातक तहको धरौटीसहित नियमित विद्यार्थीको ५६ हजार ७०० र सशुल्क विद्यार्थीको ४ लाख ९० हजार रुपैयाँ तोक्दै नयाँ शुल्क निर्धारण गरेको छ ।

हाल आईओईले सिभिल, आर्किटेक्चर, कम्प्युटर, एरोस्पेस, इलेक्ट्रिकल लगायतका एक दर्जन शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै आईओई अन्तर्गत पाँच आङ्गिक तथा १० सम्बन्धनप्राप्त कलेज सञ्चालनमा छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १४:२