काठमाडौं । गुगलले आफ्नो किबोर्ड एप जिबोर्डमा 'स्क्यान टेक्स्ट' फिचर ल्याउने भएको छ । तस्विरमा हुने अक्षरलाई झिक्न एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले यो फिचर ल्याउन लागेको हो ।
नाइनटुफाइभ गुगलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार यो नयाँ अप्सन हाल उपलब्ध ट्रान्सलेट र प्रुफरिड टोगलसँगै देखा पर्नेछ । गुगल लेन्समा प्रयोग भएको अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) सँग मिल्दोजुल्दो यो फिचर प्रयोग गर्न एपलाई क्यामेराको अनुमति आवश्यक पर्नेछ ।
त्यसपछि स्क्रिनको तल्लो भागमा क्यामेरा आइकन देखिने छ । एपमार्फत तस्विरबाट अक्षर झिक्न उक्त आइकनमा क्लिक गर्नु पर्नेछ ।
त्यसपछि तस्विरमा भएका अक्षरहरू कपी भएर नयाँ पेज खुल्ने छ । त्यहाँ प्रयोगकर्ताले आफू अनुकूल अक्षरहरू तान्न सक्ने छन् ।
जिबोर्ड प्रयोगकर्तालाई यो फिचरले तस्विरबाट अक्षर अलग्याउन गुगल लेन्स प्रयोग गर्नु पर्ने बाध्यता अन्त्य गर्ने बताइएको छ । अहिले एन्ड्रोइड १३.५ मा भएको जिबोर्डमा मात्र यो फिचर उपलब्ध गराइएको छ । छिट्टै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने बताइएको छ ।