close

एनसेलबारे उत्कृष्ट नारा बनाउने तीन जनाले पाए स्कुटर

टेकपाना टेकपाना

कात्तिक २२, २०८० ११:४२

एनसेलबारे उत्कृष्ट नारा बनाउने तीन जनाले पाए स्कुटर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार जित्न सफल सात जना ग्राहकमध्ये मंगलबार तीन जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौंडामा स्कुटर हस्तान्तरण गरिएको हो ।

विराटनगरस्थित एनसेल सेन्टरमा एक कार्यक्रममाझ अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरिन् । त्यस्तै मंगलबार नै धनगढीस्थित एनसेल सेन्टरमा आयोजित कार्यक्रममा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरिन् । त्यसैगरी एनसेल सेन्टर हेटौंडामा एनसेलका प्रोडक्टस् डाइरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पुरस्कार हस्तान्तरण गरे ।

यो योजना एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ब्रान्ड प्रतिबद्धता ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चलान गरिएका पहलहरूमध्ये एक हो । भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो र एनसेलसम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।

यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा नारा पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट ४५ हजारभन्दा बढी नारा प्राप्त भएको कम्पनीले जनाएकाे छ ।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहररूको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए ।

यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप सात जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो । बाँकी रहेका चार जना विजेताहरूले बम्पर प्राइज कात्तिक २२ र २३ गते प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:३