close

ट्राभल एजेन्सीको सिस्टम ह्याक गरी २ करोड रुपैयाँ ठगी गर्ने मेनेजर पक्राउ

टेकपाना टेकपाना

मंसिर ८, २०८० १०:५३

ट्राभल एजेन्सीको सिस्टम ह्याक गरी २ करोड रुपैयाँ ठगी गर्ने मेनेजर पक्राउ

काठमाडौं । ट्राभल्स कम्पनीको युजर आईडी सिस्टम ह्याक गरी झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ठगी गरेको आरोपमा स्याङ्जा घर भई हाल काठमाडौं सामाखुसी बस्दै आएका मर्स्याङ्गदी ट्राभल्सका व्यवस्थापक (मेनेजर)  ३३ वर्षीय नारायण सुवेदीलाई मङ्गलबार पक्राउ गरेको हो ।

ब्युरोका अनुसार आरोपित सुवेदीले कार्तिक १८ गतेदेखि मंसिर २ गतेको अवधीमा बालुवाटार काठमाडौंमा रहेको जियोल्यान्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरेका थिए । ह्याक गरिसकेपछि जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सका ३ सय ३७ जना व्यक्तिको नाममा टिकेट बनाएका थिए ।

उनले सो टिकेट वापत एक करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ बराबरको रकम यात्रीबाट लिएको ब्युरोले जनाएको छ । यसरी युजर आईडी पोर्टल ह्याक गरेर रकम लिएपछि जियोल्यान्ड ट्राभल्सले ठगी भएको भन्दै जाहेरी दिएको थियो । अनुसन्धान गर्दै गएपछि सुवेदीको संलग्नता भएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि हाल थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १०:५७