close

नेपालमा बसेर अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ७ चिनियाँ नागरिक पक्राउ

टेकपाना टेकपाना

असार ५, २०८३ ६:५७

नेपालमा बसेर अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ७ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीको बुटवलबाट क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको आरोपमा सातजना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ मा बसेर विभिन्न मोबाइल एप तथा वेबसाइटमार्फत क्रिप्टो कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

असार ३ गते राति करिब १ बजे गरिएको छापा मार्ने क्रममा पक्राउ परेका उनीहरूले बाइनान्स, ओकेएस र इनटोकनजस्ता क्रिप्टो प्लेटफर्मका साथै भारतीय डिजिटल वालेटहरू पेटीएम, भीम, मोबिक्विक र फोनपे (Phonepe) मार्फत अवैध वित्तीय गतिविधि सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा ४९ वर्षीय सियोङ गोफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ क्युचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन् । उनीहरू सबैको राहदानी नम्बर सहितको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध कारोबारमा प्रयोग गरिएका विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले पक्राउ परेका सातै जनामाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले सर्वसाधारणलाई अवैध अभौतिक मुद्राको कारोबारमा संलग्न नहुन र सुरक्षित डिजिटल भविष्य निर्माणमा सहयोग गर्न अपिल गर्दै कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तुरुन्त खबर गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ ७:१०