close

अफवाह फैलाएको भन्दै १८ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलको पत्राचार

टेकपाना टेकपाना

मंसिर १७, २०८० २०:१४

अफवाह फैलाएको भन्दै १८ युट्युब च्यानललाई कारवाही गर्न प्रेस काउन्सिलको पत्राचार

काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ ओटा युट्युब च्यानललाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण तथा अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भई आचारसंहिता उल्लङ्घन गर्ने मिडिया र युट्युब च्यानलमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको प्रेस काउन्सिलले जनाएको छ ।

मिडिया अन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न काउन्सिलले आइतबार साइबर ब्यूराेमा पत्राचार गरेको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले जनाए । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरे ।


 कारवाहीका लागि सिफारिस गरिएका च्यानलमा एक्स्ट्रा अनलाइन टिभी, त्रिशुली खबर टिभी, लेकसाइड टिभी, नेपाल खबर ओटिभी, न्यू नेपाली टिभी, टिकटक टिभी, ट्रिकल टिभी, १०० प्लस न्युज, खोज टिभी, इटहरी न्युज, स्टार मिडिया नेपाल, पुर्बेली अनलाइन टिभी र एमकेसी भ्लग्स नेपाल रहेका छन् । यी च्यानलहरू कुनै मिडिया अन्तर्गत रही सूचीकृत भएको नदेखिएको काउन्सिलको भनाइ छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिलले मंसिर ८ गते युट्युब च्यानलसहित १७ ओटा मिडियालाई कारवाही गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८० २०:१४