close

थप १५ सय कर्मचारी निकाल्ने स्पटीफाईको तयारी

टेकपाना टेकपाना

मंसिर १८, २०८० १९:३५

थप १५ सय कर्मचारी निकाल्ने स्पटीफाईको तयारी

काठमाडौं । स्वीडेनको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाईले आफ्नो कूल कर्मचारीमध्ये १५ सय (१७ प्रतिशत) लाई कामबाट निकाल्ने भएको छ । तेस्रो त्रैमासिकमा समेत नाफा नभएपछि आर्थिक सङ्कटलाई मध्यनजर गर्दै कम्पनीले पुन: ठूलो सङ्ख्यामा कर्मचारी निकाल्न लागेको हो । 

यस अगाडि आर्थिक अवस्थालाई नै कारण देखाउँदै स्पोटिफाईले जनवरीमा छ सय र जुनमा दुई सय कर्मचारीलाई कम्पनीबाट बिदाइ गरेको थियो । पछिल्लो समय विश्वमा देखिएको आर्थिक मन्दीका कारण विश्वका ठूला प्रविधि कम्पनीले कर्मचारी कटौती गरिरहेका छन् । यो वर्षमा मात्रै स्पोटिफाईले तेस्रो कर्मचारी कटौती लागेको हो ।   

यद्यपि यसबाट असर पर्ने कर्मचारीहरूलाई स्पोटिपाईले करिब पाँच महिनाको तलब क्षतिपूर्तिबापत् दिने समाचार संस्था रोयटर्सले जनाएको छ । 

पोडकास्टमा व्यावसायिक सफलता पाउन स्पोटिफाईले अहिलेसम्म एक अर्ब डलर भन्दा बढी लगानी गरिसकेको बताइन्छ । यसका लगि प्रिन्स ह्यारी, मेघन मार्कल लगायतका सेलिब्रेटीहरूसँग स्पोटिफाईले सम्झौता गरिसकेको छ । 

त्यस्तै, अनुवाद गर्न मिल्ने, सुन्दै पढ्न मिल्ने लगायतका पोडकास्ट सम्बन्धी फिचर ल्याइसकेको छ । हाल स्पोटिपाईका ६० करोड बढी प्रयोगकर्ता रहेको र सन् २०३० सम्ममा त्यो संख्यालाई एक अर्ब पुर्‍याउने लक्ष्य कम्पनीले लिएको बताइन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० १९:३५