close

अब आईफोन प्रयोगकर्ताले समेत ह्वाट्सएपमा ओरिजिनल क्वालिटीको फोटो पठाउन सक्ने

टेकपाना टेकपाना

मंसिर १९, २०८० १०:४५

अब आईफोन प्रयोगकर्ताले समेत ह्वाट्सएपमा ओरिजिनल क्वालिटीको फोटो पठाउन सक्ने

काठमाडौं । ह्वाट्सएपले आईओएसमा पनि ओरिजिनल क्वालिटीको फोटो तथा  भिडिओ पठाउने फिचर उपलब्ध गराउने भएकाे छ । ह्वाट्सएपको जानकारी दिने प्लेटफर्म वाबेटाइन्टफोका अनुसार आगामी भर्सन २३.२४.७३ मा कम्पनीले यो फिचर उपलब्ध गराउन लागेको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले आईओएस डिभाइसमा फोटो तथा भिडिओ डकुमेन्टका रूपमा पठाउन सक्नेछन् । जसले गर्दा फोटो र भिडिओ उही क्वालिटीमा पठाउन सकिन्छ । वाबेटाइन्फोका अनुसार यो फिचर केही आईओएस प्रयोगकर्ताले नोभेम्बरमै प्रयोग गर्न पाएका थिए । तर अब भने यो फिचर सम्पूर्ण आईओएस प्रयोगकर्तामाझ उपलब्ध हुने उल्लेख छ । द भर्जका अनुसार सम्भवतः यो फिचर आगामी साता सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् ।

यसका लागि प्रयोगकर्ताले सबैभन्दा पहिले आफ्नो आइओएस डिभाइसमा ह्वाट्सएप खोल्नुपर्ने हुन्छ । त्यसपछि तल मेसेज बक्सको छेउमा रहेको प्लस (+) को आइकनमा ट्याप गरी डकुमेन्टको अप्सन छान्नुपर्ने हुन्छ । यति गरेपछि ओरिजिनल क्वालिटीमा पठाउन चाहेको फोटो वा भिडिओ छानेर पठाउ सकिने छ । यसरी पठाएकाे फोटो पाउने व्यक्तिले डकुमेन्टका रूपमा पाउँछ । र, त्यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ । यस अन्तर्गत एक पटकमा प्रयोगकर्ताले दुई जीबीको डकुमेन्ट पठाउन सक्ने बताइएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि कम्पनीले गत वर्ष सेप्टेम्बरदेखि नै यो फिचर उपलब्ध गराउन थालेको थियो । यसअघि प्रयोगकर्ताले ओरिजिनल क्वालिटीको फोटो तथा भिडिओ पठाउनका लागि ती फाइलको फाइल एक्सटेन्सन डट पीडीएफ वा डट डीओसी राख्ने गर्थे । यसरी म्यानुअल्ली फोटो र भिडिओलाई पीडीएफ वा डक्समा परिवर्तन गर्दा उही क्वालिटीको पठाउन सकिन्थ्यो । 

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० १०:४५