close

आफ्ना समर्थकलाई एआईको सहयोगमा इमरान खानले पाकिस्तानी जेलबाटै दिए भाषण

टेकपाना टेकपाना

पुस २, २०८० १५:५५

आफ्ना समर्थकलाई एआईको सहयोगमा इमरान खानले पाकिस्तानी जेलबाटै दिए भाषण

काठमाडौं । पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्ना समर्थकलाई सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट तयार पारिएको अडियो क्लिप प्रयोग गरेका छन् । इन्टरनेट अवरोधका कारण प्रभावित भए पनि खानले दक्षिण एसियाली मुलुकहरूको राजनीतिमा यस्तो नयाँ प्रयोग गरेका हुन् ।

उनको तहरिक-ए-इन्साफ पार्टीले आयोजना गरेको इन्टरनेट र्‍यालीका क्रममा खानको तस्विरसहित उक्त अडियो बजाइएको थियो । युट्युबमा त्यसलाई १४ लाखले हेरेका छन् भने अन्य सामाजिक सञ्जालमा अन्य दशौं हजारले प्रत्यक्ष भाग लिएका छन् ।

"हाम्रो पार्टीलाई सार्वजनिक र्‍याली आयोजना गर्न रोक लगाइएको छ," भाषणमा खानले आफ्ना समर्थकलाई आउँदो ८ फेब्रुअरीमा हुने चुनावमा ठूलो सङ्ख्यामा भाग लिन अनुरोध गर्दै भनेका छन् । "हाम्रा मानिसहरूलाई अपहरण गरिंदैछ र उनीहरूको परिवारलाई प्रताडना दिइँदैछ ।" 

लाइभ स्ट्रिमिङमाथिको व्यवधानले आगामी निर्वाचनको पारदर्शिताको विषयलाई लिएर चिन्ता गर्न थालिएको छ । पाकिस्तानभरबाट इन्टरनेट सुस्त तथा थ्रोटलिङ भएको गुनासो गरिरहेका छन् ।

यस्तो विधि दूरसञ्चार नियामकहरूले एपहरूमाथि कडाई गर्न प्रयोग गर्दछन् । पाकिस्तानी दूरसञ्चार नियामकले इन्टरनेट अवरोधको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

तर उसले इन्टरनेटमाथिको पहुँच समग्रमा सामान्य अवस्थामा फर्किने क्रममा रहेको समेत उल्लेख गरेको छ । पार्टी अधिकारीहरूका अनुसार खानले जेलबाटै आफ्नो भाषणको लिखित संस्करणमा स्वीकृति दिएका थिए ।

पाकिस्तान सरकारले भौतिक रूपमा भेला हुन रोक लगाएपछि खानको पार्टीले भर्चुअल र्‍यालीको आयोजना गरेको थियो । यति मात्र होइन, पाकिस्तानी मिडियाबाट समेत पीटीआईका नेताहरूलाई "ब्ल्याक आउट" गरिएको रोयटर्समा उल्लेख छ ।


 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १५:५५