close

चार्जिङका क्रममा एमजी जेडएस ईभीमा आगलागी, गाडी जलेर नष्ट भएको १ सातासम्म घटना गुपचुप

टेकपाना टेकपाना

पुस १७, २०८० १४:२९

चार्जिङका क्रममा एमजी जेडएस ईभीमा आगलागी, गाडी जलेर नष्ट भएको १ सातासम्म घटना गुपचुप

 

काठमाडौं । एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागीबाट नष्ट भएको पाइएको छ । एक साता अघि अर्थात् यही ९ पुसको राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।

यो घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको स्थानीय प्रहरीले जनाएको छ । बागमती प्रदेश-०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो । 

पार्किङका क्रममा चार्जमा लगाइएको उक्त गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति हुन नपाएको काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर योगराज खतिवडाले बताए । 

 प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन । 

गाडी धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो । 

तर सवारी धनी लामिछानेले भने यस विषयमा खासै कुरा गर्न चाहेनन् । “अहिले गाडीमा आगलागी भएको विषयमा कम्पनीसँग कुराकानी भइरहेको छ,” उनले भने, “शर्ट भएर आगलागी भएको होइन, कारण अर्कै छ ।” 

आगलागीको विषय मेरो परिवार र बिक्रेता कम्पनी बाहेक अरू कसैलाई थाहा नभएको बताउने लामिछानेले सो कारण खुलाउन चाहेनन् । 

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । गाडीमा भएको आगलागीको विषयमा बुझ्न टेकपानाले पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसँग समेत सम्पर्क गरेका थियो । तर उनले भने यो विषय आफ्नो जानकारीमा आइनपुगेको दाबी गरे ।

 

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १४:३५