close

प्रधानमन्त्रीका प्रेस विज्ञको फेसबुक अकाउन्ट ह्याक, विभिन्न व्यक्तिबाट १ लाख बढी ठगी

टेकपाना टेकपाना

पुस २७, २०८० १२:३९

प्रधानमन्त्रीका प्रेस विज्ञको फेसबुक अकाउन्ट ह्याक, विभिन्न व्यक्तिबाट १ लाख बढी ठगी

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरी तिमिल्सिनाको फेसबुक अकाउन्ट ह्याक भएको छ । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा नयाँ अकाउन्टमार्फत तिमिल्सिनाले फेसबुक अकाउन्ट ह्याक भएको जानकारी दिएका छन् । 

“मेरो अर्को फेसबुक आईडी ‘Manahari Timilsina’ ह्याक गरी पैसा मागिरहेको जानकारी प्राप्त भएको छ,” तिमिल्सिनाले फेसबुकमा लेखेका छन्, “कसैले पनि त्यसलाई स्वीकार नगरिदिनुहोला ।” ह्याक भएको अकाउन्टबाट तिमिल्सिनाका नजिकका व्यक्ति दिपक भण्डारीलाई पनि पैसा मागेर म्यासेज आएको थियो ।

“हाम्रो पारिवारिक दाजु भाइको सम्बन्ध छ,” टेकपानासँग कुरा गर्दै पीडित भण्डारी भन्छन्, “यसअघि पनि उहाँसँग मेसेन्जरमा पैसा लेनदेनको काम भइरहेको हुन्थ्यो । यो पटक पनि त्यही होला भनेर ३० हजार रुपैयाँ हालेको पछि पो अकाउन्ट ह्याक भयो भन्ने थाहा पाएँ ।”

उनले बैंक अकाउन्ट नम्बर माग्दा खल्ती अकाउन्टको नम्बर आयो । सधैं कारोबार भइरहने भएपछि फोन नगरेरै भण्डारीले ३० हजार रुपैयाँ हालिदिए । पछि तिमिल्सिनाले अकाउन्ट ह्याक भएको पोस्ट राखेपछि मात्र उनले पैसा डुबेको थाहा पाए ।

“मैले जुन खल्ती अकाउन्टको नम्बरमा पैसा हालेको थिए त्यसमा पनि कल गरे,” भण्डारीले भने, “तर उहाँले त कहिल्यै खल्तीको अकाउन्ट नै खोल्नु भएको रहेनछ । यसरी नै फोन आइरहेपछि प्रहरीकहाँ उजुरी दिन जाँदैछु भन्नुभयो ।”

भण्डारीको पोस्टमा अर्का एक व्यक्तिले पनि आफूसँग रकम मागेको उल्लेख गरेका छन् । “मलाई पनि यसरी पैसा मागेको थियो,” अर्का व्यक्तिले लेखेका छन्, “मैले भिडिओ कल गरेको फोन उठेन । अनि बैंक अकाउन्ट नम्बर मागेको ईसेवामा हाल्दिन भन्यो ।”

अन्तिममा ती व्यक्तिले आफूसँग तत्काल दुई हजार मात्र भएको बताए । ह्याक भएको अकाउन्टबाट दुई हजार भए पनि हाल्दिनु आपत् परेको छ भन्ने कुरा आयो । उनलाई शँका लागेर भिडिओ कल गर्न खोजे तर कल उठेन । त्यसपछि फोन गरेर त्यसबारे बुझ्दा अकाउन्ट ह्याक भएको बुझे ।

भण्डारीले राखेको पोस्टमा अन्य व्यक्तिले पनि आफूबाट रकम मागेको दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १३:२८