close

सांसद सुमना श्रेष्ठको प्रश्न- सरकारले सफ्टवेयर बनाउने ठेक्का किन नेपाली कम्पनीलाई दिँदैन ?

टेकपाना टेकपाना

माघ ४, २०८० १४:२७

सांसद सुमना श्रेष्ठको प्रश्न- सरकारले सफ्टवेयर बनाउने ठेक्का किन नेपाली कम्पनीलाई दिँदैन ?

काठमाडौं । सरकारले नेपाली सफ्टवेयर कम्पनीलाई विश्वास नगरेको भन्दै सांसद सुमना श्रेष्ठले असन्तोष जनाएकी छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारले अरबौं रकममा सफ्टवेयरको बिडिङ गरेपनि नेपाली कम्पनीले भाग लिन नपाइरहेको गुनासो गरिन् ।

नेपालमै रहेका कम्पनीहरू विदेशमा सेवा दिइरहे पनि सरकारले भने सधैं विदेशी कम्पनीलाई मात्र सफ्टवेयर बनाउन जिम्मा दिने गरेको सांसद श्रेष्ठको आरोप छ । नेपाली कम्पनीलाई बिडिङमा सहभागी गराउने गरी काम हुन सके स्वदेशमै प्रचुर सम्भावना रहेको उनको भनाइ थियो ।

अरबौं अरब रूपैयाँको सफ्टवेयर खरिदमा स्वदेशी कम्पनीलाई जिम्मा नदिएकाे बताउँदै उनले भनिन्, ''नेपाली कम्पनीले बिड गर्न सक्ने सफ्टवेयरको जिम्मा पनि हामीले सर्लक्कै विदेशीहरूलाई दिन्छौं, अनि नेपालमा चैं जहिले पनि आउनसोर्सको प्रोजेक्ट खोज्दै हिँड्ने ? अरबौं अरबको ठेक्का यदि उहाँहरू (नेपाली कम्पनी)ले पाउने हो भने यहाँ प्रशस्त मात्रामा टेक जब सिर्जना हुन्छ ।'' 

सोही बैठकमा बोल्दै उनले कानूनमा छिद्र छ भनेर एमडीएमएस, टेरामोक्स र एनसेल प्रकरणको कहानी सुनाउने काम मात्रै भइरहेको धारणा राखिन् ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १४:३६