close

२० वर्षको भयो फेसबुक, कलेजका विद्यार्थीको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो सामाजिक सञ्जाल

टेकपाना टेकपाना

माघ २१, २०८० १०:४९

२० वर्षको भयो फेसबुक, कलेजका विद्यार्थीको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो सामाजिक सञ्जाल

काठमाडौं । आजभन्दा २० वर्षअघि अर्थात् ४ फेब्रुअरी २००४ का दिन कलेजका विद्यार्थीले अमेरिकामा सुरु गरेको एउटा परियोजना ‘द फेसबुक’ आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । 

कलेजका विद्यार्थीलाई एउटा नेटवर्कमा जोड्ने प्लेटफर्मका रूपमा जन्मिएको फेसबुकले यसबीचमा कैयौं परिवर्तन ल्याएको छ । २० वर्षमा फेसबुकमा के कस्ता परिवर्तन आए भन्ने विषयमा यहाँ विस्तृत चर्चा गरिएको छ:

- फेसबुक सार्वजनिक 

फेसबुक सबैभन्दा पहिले ४ फेब्रुअरी २००४ मा ‘द फेसबुक’का नाममा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीले सार्वजनिक गरेका थिए । कलेज प्रोजेक्टका रूपमा सुरु भएको यो प्लेटफर्म विस्तारै अन्य कलेज, अमेरिका हुँदै विश्वभर फैलियो । 

सुरुवातमा नाम ‘द फेसबुक’ भए पनि सन् २००५ मा यसको नामबाट ‘द’ हटाइयो । त्यसपछि फेसबुक डटकम सेप्टेम्बर २००६ देखि सबैका लागि उपलब्ध भयो ।  

- आइडिया चोरेको आरोप

मार्क जुकरबर्गलाई फेसबुकको आइडिया हार्वर्डका साथीहरू क्यामेरोन विन्कलेभोस, टेलर विन्कलेभोस र दिव्या नरेन्द्रबाट चोरेको आरोप लाग्दै आएको छ । उनीहरूका अनुसार मार्क जुकरबर्गले हार्वर्ड कनेक्सन भन्ने सामाजिक सञ्जाल बनाउन मद्दत गर्ने नाममा उक्त आइडिया चोरेका थिए ।

त्यही विषयमा जुकरबर्गमाथि मुद्दा पनि परेको थियो । सन् २००८ मा उक्त मुद्दा टुङ्गिएको थियो ।

- पब्लिक कम्पनीका रूपमा फेसबुक 

सन् २०१२ मा फेसबुक प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भयो । त्यसबखत फेसबुक अमेरिकाको इतिहासमै सबैभन्दा बढी आईपीओ जारी गर्ने कम्पनी बनेको थियो ।

कम्पनीले ४२ करोड १२ लाख ३३ हजार ६१५ कित्ता शेयर घोषणा गरेको थियो, जसका लागि प्रतिशेयर मूल्य ३८ डलर कायम गरिएको थियो । 

- इन्स्टाग्राम खरिद 

सन् २०१२ तिर सामाजिक सञ्जाल इन्स्टाग्राम निकै भाइरल बनेको थियो । सेलिब्रेटीले अकाउन्ट बनाएर आफ्नो फोटो राख्न थालेपछि यो प्लेटफर्म निकै रुचाइएको थियो । फेसबुक नरुचाउनेका लागि यो उपयुक्त माध्यम थियो ।

फेसबुकले इन्स्टाग्रामलाई आफ्नो मातहत ल्याउन सन् २०१२ मा एक अर्ब डलरमा खरिद गर्‍यो । इन्स्टाग्राम फेसबुककै भाग भएपनि त्यसलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न थालिएको थियो । पछि भने उही पोस्ट फेसबुक र इन्स्टाग्राम दुवैमा शेयर गर्न सकिने, दुवै प्लेटफर्मका प्रयोगकर्तालाई मेसेन्जरबाटै कुरा गर्न सकिने फिचर ल्याइयो ।

पछिल्लो समय इन्स्टाग्रामको रिल्स फेसबुकमा देखाउन थालिएको छ । तर, कम्पनीले त्यसअघि मेसेन्जरबाटै इन्स्टाग्राम प्रयोगकर्तासँग च्याट गर्न सकिने फिचर भने बन्द गरिसकेको छ । 

- ह्वाट्सएप खरिद 

फेसबुकले फोटो शेयरिङ प्लेटफर्मका रूपमा उदाएको इन्स्टाग्राम खरिद गरिसकेको थियो । त्यहीबीच उक्त प्लेटफर्मको मेसेन्जर सेवा पनि उत्तिकै लोकप्रिय थियो । तर, त्यसमा फोन नम्बरकै भरमा कसैसँग कुरा गर्न सकिने विशेषता थिएन ।

फोन नम्बरकै भरमा तत्काल मेसज पठाउन सकिने फिचर भएको ह्वाट्सएपले २०१४ मा निकै चर्चा बटुलिरहेको थियो ।

फेसबुकले त्यही समयमा १९ अर्ब डलरमा उक्त प्लेटफर्म खरिद गर्‍यो । जसरी इन्स्टाग्राम स्वतन्त्र ढङ्गले सञ्चालन भइरहेको छ, ह्वाट्सएप पनि त्यसरी नै सञ्चालन भइरहेको कम्पनीले दाबी गर्दै आएको छ । यद्यपि विभिन्न तरिकाले ह्वाट्सएपलाई फेसबुकले इन्टिग्रेट गरेको छ । 

-ओकुलस भीआर 

फेसबुकले सन् २०१४ मा अर्को भर्चुअल रियालिटीको स्टार्टअप अकुलस भीआर आफ्नो स्वामित्वमा लियो । त्यसका लागि कम्पनीले दुई अर्ब डलर खर्च गरेको थियो ।

सामाजिक सञ्जाल मात्र नभई भर्चुअल रियालिटीको क्षेत्रमा पनि आफ्नो प्रभुत्व कायम गर्न फेसबुकले उक्त कम्पनी खरिद गरेको थियो ।

- फेसबुकले प्रयोगकर्तामाथि गरेको अध्ययन 

सन् २०१४ मा न्युज फिडमा फेसबुकले ‘मुड इन्फ्लयुन्स स्टडी’ गरेको भन्ने विवाद सतहमा आयो । त्यसका लागि कम्पनीले छ लाख ८९ हजार प्रयोगकर्ताको फिडमा पोस्ट फिल्टर गरेर त्यसलाई विश्लेषण गरेको थियो ।

प्रयोगकर्ताले फेसबुकमा देखिने सकारात्मक वा नकारात्मक कन्टेन्टलाई कसरी लिन्छन् भन्ने कुराको परीक्षण गर्न त्यसो गरेको फेसबुकको दाबी थियो । 

- एक अर्ब प्रयोगकर्ताको आँकडा पार 

फेसबुकले सन् २०१५ मा एक अर्ब प्रयोगकर्ताको आँकडा पार भएको घोषणा गरेको थियो ।

- लाइकसँगै अन्य बटनहरू थप 

फेसबुकमा सन् २०१५ भन्दा अगाडि लाइक बटन मात्र दिइएको थियो । जसरी एक्स र इन्स्टाग्राममा लभ बटन राखिएको छ, त्यस्तै फेसबुकमा लाइक बटन मात्र थियो ।

सन् २०१५ मा कम्पनीले भावना व्यक्त गर्न सहयोग पुगोस् भनेर लभ, वाउ, हाँसोको इमोजी, दु:खी र रिसाएको इमोजी बटनका रूपमा समावेश गरेको थियो ।

-क्याम्ब्रिज एनालिटिका काण्ड 

क्याम्ब्रिज एनालिटिका काण्डलाई फेसबुकले सामना गरेको सबैभन्दा ठूलो विवादका रूपमा लिइन्छ । एक अनुसन्धान अनुसार फेसबुकले प्रयोगकर्ताको अनुमति बिनै उनीहरूको व्यक्तिगत डेटा एक डेटा एनालाइसिस फर्मलाई बुझाएको थियो । 

विभिन्न रिपोर्टका अनुसार फेसबुकले आठ करोड ७० लाख  प्रयोगकर्ताको डेटा बिक्री गरेको थियो । त्यसका लागि बेलायतको इन्फरमेसन कमिस्नर अफिस (आईसीओले) पाँच लाख जरिवाना तिराएको थियो । 

- तीन करोड प्रयोगकर्ताको डेटा लिक

सेप्टेम्बर २०१८ मा फेसबुकका झन्डै पाँच करोड प्रयोगकर्ताको अकाउन्ट कम्प्रमाइज भएको खबर बाहिरियो । यद्यपि पछि कम्पनीले तीन करोड प्रयोगकर्ताको डेटा लिक भएको जानकारी दियो ।

- भ्रामक समाचार 

फेसबुक भ्रामक समाचार फैलाउने माध्यममा गनिन्छ । आफ्नो प्लेटफर्मबाट फैलिने भ्रामक र मिथ्या सूचना रोक्न नसकेको आरोप फेसबुकमाथि लाग्दै आएको छ ।

विशेषगरी निर्वाचन, प्राकृतिक प्रकोप, द्वन्द्वका समयमा उक्त प्लेटफर्मबाट अत्यधिक भ्रामक समाचार फैलिएका हुन्छन् ।

अहिले पनि भ्रामक समाचार फैलाउन स्क्यामरले यो प्लेटफर्मको अत्यधिक प्रयोग गर्छन् । तर, पछिल्लो समय फेसबुकले ‘फ्याक्ट चेक’ सुविधा पनि ल्याएको छ ।

कुनै समाचार भ्रामक भएको थाहा भएमा तथ्य जाँच हुन्छ । यदि उक्त तथ्य जाँच सही भएमा पेजले नीति उलङ्घन गरेको भन्दै रिच डाउन हुन्छ । 

- प्रतिद्वन्द्वी प्लेटफर्मको बढ्दो दबाब

सुरुवाती समयदेखि नै फेसबुकले प्रतिद्वन्द्वी प्लेटफर्महरूको चर्को दबाब सामना गर्दै आएको छ । त्यसैले प्रतिद्वन्द्वीलाई पछि पार्न फेसबुकले प्लेटफर्म नै खरिद गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । 

पछिल्लो समय शर्ट भिडिओ प्लेटफर्म टिकटक फेबुकको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रूपमा देखापरेको छ । युवापुस्तामाझ लोकप्रिय टिकटक नै फेसबुकको प्रमुख प्रतिद्वन्द्वी हो । विभिन्न रिपोर्टका अनुसार फेसबुकमा फेसबुकमा सक्रिय युवापुस्ता प्रयोगकर्ताको सङ्ख्या ज्यादै न्यून छ । 

२०२२ को सुरुवातमा फेसबुकको इतिहासमै सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको भन्दै मार्क जुकरबर्ग सार्वजनिक रूपमै जानकारी दिएका थिए । त्यसपछि नै फेसबुकको प्रतिद्वन्द्वीका रूपमा टिकटकलाई लिइएको थियो । 

युवापुस्तामाझ टिकटक लोकप्रिय हुने देखेपछि फेसबुकको मातृ कम्पनी मेटाले इन्स्टाग्राम र फेसबुकमा रिल्स फिचर ल्याएको थियो । त्यस्तै स्नापच्याटको स्टोरिज फिचर पनि मेटाले कपी गरेको भन्ने आरोप लाग्दै आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर)सँग प्रतिस्पर्धा गर्न कम्पनीले थ्रेड्स नामको सामाजिक सञ्जाल ल्याएको थियो । तर, त्यसले अन्य प्लेटफर्म जस्तो लोकप्रियता पाउन सकेको छैन । त्यसबाहेक एक्सले ल्याएको सशुल्क ब्लु टिक फिचर पनि मेटाले फेसबुक र इन्स्टाग्राममा उपलब्ध गराएको छ । 

- मेटाभर्सको जुवा 

सन् २०२१ मा मार्क जुकरबर्गले आफ्नो प्रमुख कम्पनीको नाम ‘फेसबुक’बाट परिवर्तन गरेर मेटा राखे । हुन त मेटा राख्नुका पछाडि थुप्रै कारण छन् । कतिपयले ‘फेसबुक नामका पछाडि लागेको दाग नमेटिने भएकाले मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखेको तर्क दिएका छन् ।

यद्यपि अबको युब मेटाभर्स (भर्चुअल रियालिटी)को भएको भन्दै कम्पनीको नाम मेटा राखेको जुकरबर्गको भनाइ छ । कम्पनी मेटाभर्सको अवधारणामा गएको दुई वर्षपछि इन्टरनेटमा मेटाभर्स मेनस्ट्रिम बन्न लागेको सानो सङ्केत देखिँदैछ । पछिल्लो समय एप्पलले आफ्नो भर्चुअल रियालिटी डिभाइस सार्वजनिक गरेपछि भर्चुअल रियालिटीबारे बहस बढेको छ । 

तर जुकरबर्ग मेटाको अवधारणामा लागेपछि निरन्तर घाटामा छन् भन्ने रिपोर्टले देखाएको छ । कुनै समय धनाढ्यको शीर्ष तेस्रो स्थानमा रहेका जुकरबर्ग शीर्ष २९ पुगेका थिए । त्यसैले जुकरबर्गले मेटामा लगानी गरेको रकम जुवा खेलेको भन्ने कतिपयको व्यङ्ग्य छ । तर, पछिल्लो समय भने उनी १६७ अर्ब डलरका साथ फोर्ब्सको शीर्ष चार स्थानमा छन् । 

- रोजगारी कटौती 

पछिल्लो समय प्रविधि क्षेत्रमा रोजगारी कटौती सामान्य जस्तै बनिसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगलाई लिएर प्रविधिका दिग्गज कम्पनीले कर्मचारी कटौती गर्न थालेका छन् ।

मेटाले पनि सन् २०२२ को अन्तिमदेखि मार्च २०२३ सम्म सबैभन्दा बढी कर्मचारी कटौती गरेको थियो ।

कम्पनीले चार महिनाको अवधिमा विश्वभरबाट ८७ हजार कर्मचारीलाई हटाएको थियो । त्यसको केही हप्तापछि १० हजारलाई हटायो । प्रतिद्वन्द्वी कम्पनी बढ्नु र विज्ञापनबाट हुने आम्दानी घट्दै जाँदा मेटाले यो समस्या सामना गर्नुपरेको थियो । 

- रिकमेन्डेसन एल्गोरिदम

टिकटकको एग्गोरिदमले जसरी प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ, फेसबुकले पनि त्यही मोडालिटी अपनाएको देखिन्छ । जसले गर्दा पछिल्लो समय फेसबुकमा अधिकांश प्रयोगकर्ताको पोस्ट रिच बढ्दै गएको छ ।

मेटाले फेसबुक पेजलाई प्रोफाइल र अकाउन्टलाई पनि प्रोफेस्नल अकाउन्ट बनाउन सकिने सुविधा ल्याएको छ । यसबाट प्रयोगकर्ताले आम्दानी पनि गर्न सक्छन् । आम्दानी गर्न सकिने विकल्प भने सबै देशमा दिइएको छैन ।

- सुरुवाती लयमा फर्किंदै फेसबुक

पछिल्लो समय फेसबुक र मेटाले जे-जस्ता समस्या सामना गरेपनि आम्दानीका हिसाबले भने प्रगति गरिरहेको छ । सन् २०२३ को अन्तिम तीन महिनामा कम्पनीले राम्रो आम्दानी गरेको थियो ।

२०२२ को अन्तिम तीन महिनाको तुलनामा २०२३ काे साे अवधिमा आम्दानी २५ प्रतिशतले वृद्धि भएको थियो । विशेषगरी विज्ञापन बजार पनि पहिलेकै अवस्थामा पुग्दा मेटाको आम्दानी बढ्दै गएको हो ।

भर्चुअल रियालिटीका सन्दर्भमा पनि पछिल्लो समय सकारात्मक सङ्केत देखिएका छन् । यसबाट पनि कम्पनीले लगानी गरेको क्षेत्रमा सुधार भइरहेको देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० ११:२२