close

कृषि तथा वन विश्वविद्यालय चितवनमा अर्को वर्षदेखि कृषि इन्जिनियरिङको पढाइ हुने

टेकपाना टेकपाना

माघ २२, २०८० ११:२

कृषि तथा वन विश्वविद्यालय चितवनमा अर्को वर्षदेखि कृषि इन्जिनियरिङको पढाइ हुने

 

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि इन्जिनियरिङ विषय अध्यापन गराउने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने गरी आवश्यक तयारी थालेको हो ।

चार वर्षे यो कोर्स विश्वविद्यालय रहेको चितवनको रामपुरमा पढाइ हुनेछ । विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गत हुने कोर्सको पाठ्यक्रमको मस्यौदा तयार भइसकेको छ । यदि समयमै नेपाल इन्जिनियरिङ परिषद्‌बाट अध्यापनको अनुमति पाए आउँदो शैक्षिक सत्रबाट पढाइ सुरु हुने कृषि संकायका डीन प्राध्यापक डाक्टर अर्जुन श्रेष्ठले बताए ।   

उनका अनुसार अहिले नै विश्वविद्यालयमा कृषि इन्जिनियरिङका तीन जना फ्याकल्टी (शिक्षक/शिक्षिका) छन् । साथै कृषि इन्जिनियरिङका केही विषय अन्य कोर्समा पढाइ समेत भइरहेका छन् । त्यसो हुँदा विश्वविद्यालयमा कृषि इन्जिनियरिङ पढाउनु उपर्युक्त हुने उनको भनाइ छ ।  

“स्थापना कालदेखि नै यहाँ कृषि सम्बन्धी विषयहरू अध्यापन हुँदै आएका छन् । नेपाल कृषि प्रधान देश हो । पछिल्लो समयमा कृषि सम्बन्धी विभिन्न मसिनरीहरू भित्रिरहेका छन्,” डीन श्रेष्ठले भने, “यस्तोमा हामीलाई कृषि क्षेत्रका मसिनरी कुराहरूको विज्ञ चाहिन्छ । त्यसका लागि कृषि इन्जिनियरिङ कोर्स पढाइ हुन जरुरी छ । कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्न, कृषिको सर्वाङ्गीण विकास गर्न यो कोर्स महत्वपूर्ण छ ।”

अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पूर्वाञ्चल  इन्जिनियरिङ कलेजमा मात्रै यो कोर्स सञ्चालनमा छ । अब भने आउँदो शैक्षिक सत्रबाट कृषि इन्जिनियरिङ कोर्स पढाउने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको १२ औँ साधारण बैठकले निर्णय गरेको हो ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० ११:२