close

एक्स-एज ब्रान्डको नयाँ स्मार्टवाच नेपाली बजारमा, मूल्य २९ सय रुपैयाँ

गणेश सुवेदी गणेश सुवेदी

फागुन १, २०८० १३:५०

एक्स-एज ब्रान्डको नयाँ स्मार्टवाच नेपाली बजारमा, मूल्य २९ सय रुपैयाँ

तीन हजारभन्दा कम मूल्यमै ब्लुटुथ कलिङ फिचर भएको स्मार्टवाच खोज्दै हुनुहुन्छ भने भारतीय ब्रान्ड एक्स-एज (X-Age) को स्मार्टवाच 'क्लिक टुु' तपाईँको रोजाइमा पर्नसक्छ । यो स्मार्टवाचको मूल्य २८ सय ९९ रुपैयाँ रहेको छ । मैले यो स्मार्टवाच केही दिनदेखि प्रयोग गरिरहेको छु । त्यसको आधारमा यो स्मार्टवाच कस्तो छ भनेर बताउँदैछु:

कुरा सुरु गरौँ, बिल्ड क्वालिटीबाट । यो वाचको मुख्य भाग हार्ड प्लास्टिकले बनेको छ । यसमा साइडमा एउटा पावर बटन दिइएको छ, जसलाई लङ प्रेस गर्दा पावर अफ गर्ने अप्सन देखाउँछ । एक पटक थिच्ने हो भने स्क्रिन अन हुन्छ । पुनः एक पटक थिच्दा मेन मेन्युमा पुगिन्छ । साथै यसलाई घुमाउँदा वाच फेस परिवर्तन हुन्छ । 

मेन मेनुमा पुगेर यसलाई घुमाउने हो भने भने स्क्रोन डाउन-अप हुन्छ । तर थोरै ल्यागी चाहिँ फिल हुँदो रहेछ । तल पट्टि हेर्ने हो भने सेन्सरसँगै चार्जिङ पिन दिइएको छ । यता स्पिकर र माइक पनि देख्न सक्छौँ । जसको उपयोग ब्लुटुथ कलिङ र भ्वाइस असिस्टेन्टमा हुन्छ ।

फिताको कुरा गर्ने हो भने यसमा सिलिकन स्ट्राप छ । तपाईँले यसको स्ट्राप चेन्ज पनि गर्न सक्नुहुन्छ । राम्रो कुरा के छ भने कम्पनीले बक्समा नै एक्स्ट्रा रातो स्ट्राप पनि दिएको छ । तपाईँलाई कालो स्ट्राप मन परेन भने रातो स्ट्राप पनि लगाउन सक्नुहुन्छ ।

डिस्प्लेको कुरा गर्नुपर्दा यसमा १.९६ इन्चको आईपीएस डिस्प्ले दिइएको छ । एजहरुमा थोरै कर्भ्ड देख्न सकिन्छ । कर्भ्ड एजले यो स्मार्टवाचको लुक्सलाई अझै आकर्षक बनाएको छ । साथै डिस्प्लेमा राइट स्लाइड गर्ने हो भने एज प्यानल आउँछ, जसमा तपाईँले सिधै कल लग, अलार्म, स्पोर्ट्स मोड, वेदर, एक्टिभिटीमा पहुँच पाउन सक्नुहुन्छ ।

ब्राइटनेसको कुरा गर्नुपर्दा घाममा पनि स्क्रिन मजाले भिजिबल हुन्छ । मलाई चाहिँ यो फिचर मनपर्‍यो । वाचमा डिफल्ट रूपमै १६ वटा वाच फेस आउँछ, जसमध्ये एउटा चाहिँ तपाईँले कस्टमाइज गरेर आफूले चाहेको फोटो राख्न सक्नुहुन्छ ।  

वाचमा कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ दिइएको छ । वाच फोनसँग कनेक्ट भएपछि वाचबाटै कल रिसिभ गर्न, काट्न र मोबाइलका नोटिफिकेसनहरू हेर्न सकिन्छ । कल मेनुमा जाने हो भने कन्ट्याक्ट, कन्ट्याक्ट हिस्ट्री र डायल प्याडको अप्सन देखिन्छ ।

​वाचबाट एड गरिएका केही नम्बर कन्ट्याक्टमा देखिन्छ । कल हिस्ट्रीमा कल आएका गएका विवरण हुने भयो भने डायल पडबाट नम्बर डायल गर्न सकिन्छ । कल गर्दा आवाज क्लियर नै आउँछ । होहल्लामा कुरा गर्दा पनि बिना अवरोध कुराकानी सम्भव भएको थियो । यसको मतलब वाचको माइक र स्पिकरको क्वालिटी राम्रै छ भन्ने हो । 

यसमा हेल्थ मनिटरिङको लागि हार्ट रेट, ब्लड अक्सिजन, ब्लड मनिटरिङको सुविधा दिइएको छ । यसबाहेक निन्द्रा र तनावको अवस्था जाँच्न स्लिप र स्ट्रेस मनिटरिङको सुविधा पनि यसमा छुटेको छैन । स्लिप ट्र्याकिङ रेकर्ड चाहिँ लगभग मैले सटीक नै पाए । सामान्य स्वास्थ्य अवस्था बुझ्न यो वाच पर्याप्त नै भएको मलाई लाग्यो ।​

वाचमा १०० भन्दा धेरै स्पोर्ट्स मोडहरू रहेका छन् । स्पोर्ट्सभित्र जाने हो भने outdoor, indoor, cycling, climbing जस्ता अप्सन रहेका छन्  । यदि तपाईँले मोबाइलको जीपीएस प्रयोग गर्ने पर्मिसन दिनुभएको छ भने यसले तपाईँ कति हिँड्नुभयो, कताकता जानु भयो त्यो पनि देखाइदिन्छ । 

स्पोर्ट्स मोड परिवर्तन गर्न 'personalization' अप्सन पनि यसमा दिइएको छ । जसभित्र गएर तपाईँले नयाँ मोडहरू थप्न तथा घटाउन सक्नुहुनेछ । दौडँदा  होस् या फुटबल, क्रिकेट जस्ता खेल खेल्दा, स्पार्ट्स मोडमा मोड सेलेक्ट गर्नुभयो भने तपाईँको मुटुको चाल, कति क्यालोरी बर्न गर्नुभयो, कति हिँड्नुभयो लगायतका विवरण यसले देखाउँछ । 

घडीमा stopwatch, alarm, timer, calendar, calculator जस्ता फिचरहरू पनि दिइएको छ । अर्को कुरा तपाईँले अल्छी लागेकाे बेलामा घडीमै गेम पनि खेल्न सक्नुहुन्छ । सेक्युरिटीका लागि पिन सेट गर्न पनि मिल्छ । तर पनि घडीमा पिनको खासै जरुरत पर्छ जस्तो चाहिँ मलाई लाग्दैन ।

वाचमा माथितिर स्लाइड गर्ने हो भने विभिन्न अप्सनहरू देखा पर्छन् । ब्राइटनेस घटाउने/बढाउने देखि लिएर calculator, setting, calendar सजिलै यहीबाट एक्सेस गर्न सकिन्छ । त्यसको लागि मेनुमा गएर स्क्राेल गरिरहनु पर्ने झन्झट हुँदैन  । 

अर्को महत्त्वपूर्ण कुरा भनेको यसले नेपाली भाषा पनि सपोर्ट गर्छ । यसको 'language setting' भित्र गएर नेपाली भाषा सजिलै छनोट गर्न सकिन्छ । नेपाली भाषा छानेपछि यसका आइकन, सेटिङ सबैतिर नेपाली भाषा नै देख्न सकिन्छ । माेबाइलमा नेपाली भाषामा आउने मेसेज तथा नाेटिफिकेसन पनि वाचबाटै पढ्न सकिन्छ । त्यसैले पनि विशेषगरी अङ्ग्रेजी भाषासँग घुलमिल नभएका हाम्रा आमाबुबाको लागि चाहि यो वाच राम्रो विकल्प बन्न सक्छ ।  

वाचमा २६० एमएएचको लिथियम पाेलिमर ब्याट्री राखिएको छ, जसलाई फुल चार्ज गर्न करिब एक घण्टा १५ मिनेट लाग्दो रहेछ । फुल ब्राइटनेसमा चलाउँदा पाँच दिन मजाले टिकेको थियो । तर माेबाइलसँग सधै कनेक्ट गरिराख्नुहुन्छ भने चाहिँ यसमा केही तलमाथि हुन सक्छ । 

यो वाचलाई मोबाइलसँग कनेक्ट गर्न तपाईँले 'smart time pro' भन्ने एप डाउनलाेड गर्नुपर्ने हुन्छ । एप डाउनलाेड गरेर वाचसँग कनेक्ट गरिसकेपछि तपाईँले आफ्नो दैनिक, साप्ताहिक वा मासिक रूपमा स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी एपबाटै लिन सक्नुहुनेछ । त्यसलाई सजिलै वाचमा सिंक गर्न सक्नुहुनेछ । सिंक हुन करिब ३० सेकेन्डजति लाग्छ  । 

डिभाइसभित्रै नाेटिफिकेसन भन्ने अप्सन पनि छ । त्यसबाट केके को नाेटिफिकेसन वाचमा  आउने भन्ने मिलाउन सकिन्छ । मह‍िलाको लागि period tracker को अप्सन पनि यसमा दिइएको छ । 'phonebook' भित्र २० वटा फाेन नम्बर एड गर्न मिल्छ । तपाईँले धेरै कल गर्ने वा तपाईँलाई धेरै कल आउने नम्बर हरुलाई यो लिस्टमा राख्न सक्नुहुनेछ ।

यस्तै यसमा 'anti-lost reminder' फिचर छ । यसलाई अन गर्दा तपाईँले वाच नाडीबाट फुकाल्नु भयो भने एलर्ट आउँछ  । यो विशेषगरी वाच खोलेर कतै राख्नुहुँदा फेला पार्न नसकेको बेला काम आउने फिचर हो । तर यो त्यति धेरै प्रभावकारी हुन्छ जस्तो मलाई लागेन । ‘me’ अप्सनमा जाने हो भने आफ्नो दैनिकीलाई आवश्यक विभिन्न गाेल सेट गर्ने कुराहरू रहेका छन् । 

समग्रमा भन्नुपर्दा यो वाचले जुन मूल्यमा यी फिचरहरु अफर गरिरहेको छ । त्यो 'भ्यालु फर मनी' नै हो । तर पनि एक्स-एजले स्क्रिन स्मुथ बनाउन भने अझै काम गर्न सक्थ्यो जस्तो मलाई लागेको छ । साथै ब्याट्री पनि अझै बढी दिनसम्म टिक्ने भए धेरै मानिसको रोजाइमा यो वाच पर्न सक्थ्यो ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८० १४:२०