close

अनलाइनबाटै २३ लाख १७ हजार बढीले लिए प्रहरी रिपोर्ट, यस्तो छ निःशुल्क प्राप्त गर्ने प्रक्रिया

टेकपाना टेकपाना

फागुन २, २०८० ११:४५

अनलाइनबाटै २३ लाख १७ हजार बढीले लिए प्रहरी रिपोर्ट, यस्तो छ निःशुल्क प्राप्त गर्ने प्रक्रिया

काठमाडौं । नेपाल प्रहरीले हालसम्म २३ लाख १७ हजार ६७३ जनालाई प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध अनलाइनबाटै गराएको छ । २४ असोज २०७६ मा अनलाइन सेवा सुरु भए यता हालसम्म उक्त सङ्ख्यामा अनलाइनबाटै प्रहरी रिपोर्ट जारी भएको हो । 

हालसम्म ३१ लाख ४० हजार ९८ जनाले अनलाइन आवेदन दिएको प्रहरीले जनाएको छ । जस मध्ये स्वदेशबाट २८ लाख ९५ हजार २०२ र विदेशबाट दुई लाख ३६ हजार १० नेपाली नागरिकले आवेदन दिएका थिए । त्यस बाहेक सो अवधिमा विदेशी नागरिकबाट सात हजार ८९९ र शरणार्थीबाट नौ सय ८७ ओटा आवेदन प्राप्त भएको उल्लेख छ । 

हाल दैनिक तीन हजार पाँच सयदेखि पाँच हजार तीन सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने गरेको र तीमध्ये सामान्यतया चार हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको उल्लेख छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा मात्रै पाँच लाख ५० हजार ६० जनालाई अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराइएको छ ।

सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त भएकोमा अधिकांशलाई अनलाइनबाटै प्रहरी रिपोर्ट उपलब्ध गराइएको हो । प्राप्त आवेदन मध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६७२ आवेदन कार्यान्वयनको क्रममा छन् ।

विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरीको वेबसाइट र नागरिक एपबाट सेवाग्राहीले यसका लागि जुनसुकै ठाउँबाट अनलाइन फाराम भर्न सक्छन् ।

स्वदेशमा भएका नेपाली नागरिकले अनलाइन निवेदन दिंदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपी र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो समावेश गर्नुपर्ने हुन्छ । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको हकमा राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको नेपाल अध्यागमन डिपार्चर स्ट्याम्प भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपी र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो समावेश गर्नुपर्ने हुन्छ ।

आवश्यक कागजात सहितको निवेदन पेस गरेको करिब पाँच दिनभित्र आवश्यक प्रक्रिया पूरा भएपछि निवेदककै युजर आईडीमा प्रहरी रिपोर्ट पठाइने व्यवस्था मिलाइएको छ । सेवाग्राहीको आवेदन विवरण ठीक नभएमा, संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्दा चलेको व्यक्ति एकै हो वा होइन यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएमा थप केही समय लाग्न सक्छ ।

प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको छ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले सकेसम्म पाँच दिनभित्रै प्रहरी रिपोर्ट उपलब्ध गराउँदै आइएको बताए ।

जुन विकसित देशको तुलनामा समेत राम्रो सेवा भएको प्रहरीको भनाई छ । “विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदन ‘होल्ड’मा रहन्छन् र प्रमाणीकरण गर्दा थप समय लाग्न सक्छ,” तामाङले भने, “यसका लागि आधुनिक प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।”

प्रहरी रिपोर्ट लिने प्रक्रिया थप सहज बनाउन सूचना प्रविधि सहयोगी बनेको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति प्रहरीले लिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले यस्तो छिटोछरितो सुविधा प्रहरीको सक्रियता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको बताए ।

“यस व्यवस्थालाई अझ प्रभावकारी र सहज हुने गरी काम गर्न नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ,” उनले भने, “प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम भइरहेका छन् ।”

हाल प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस), अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम (एएफआइएस) र अनलाइन पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम (ओपीसीआर) सफ्टवेयर प्रयोगमा छन् । सीआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राख्ने गरिन्छ ।

जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको आपराधिक अभिलेख औंठा छापबाट थप जाँच गर्न मद्दत गर्दछ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले छिटो छरितो अपडेट गर्न थप साधन स्रोत आवश्यक रहेको बताए ।

“हामी प्रविधिको प्रयोग, पुराना अभिलेख अपडेट गर्दै छिटो सेवा दिने प्रयास गरिरहेका छौं,” उनले भने ।

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्रको सुविधा दिने गरिएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन २, २०८० ११:५०