काडमाडौं । अनरले आफ्नो आउँदै गरेको नयाँ स्मार्टफोन अनर एक्स एट बी (Honor X8b) को मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यही १६ फागुनमा विश्व बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको फोनको मूल्य बाहिर ल्याएको हो ।
कम्पनीका अनुसार यो फोन नेपाली बजारमा २९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । ५१२ जीबी स्टोरेज भएको यो फोनका लागि सोमबारदेखि प्रिबुकिङ समेत सुरु भइसकेको छ ।
तपाईंले अनलाइन मार्केटप्लेस दराज र अफलाइनमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट यसको प्रि-बुकिङ गराउन सक्नु हुनेछ । ट्रेन्डी डिजाइनमा म्याजिक क्याप्सुल (डाइनामिक आइल्यान्ड जस्तै) फिचर हाइलाइट गरिएको यो फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।
त्यसका साथै पाँच मेगोपिक्सेलको वाइड सेन्सर र ५ मेगापिक्सेलकै म्याक्रो क्यामेरा सहित ट्रिपल क्यामेरा सिस्टम यसमा राखिएको छ ।
सेल्फीको लागि ५० मेगापिक्सेलको क्यामेरा दिएको यो आउँदो बुधबारसम्म प्रिबुक गर्न सकिने कम्पनीले जनाएको छ । यो फोन प्रिबुकिङ गर्दा पाँच हजार ४९० रुपैयाँ पर्ने अनरको इयरबड एक्स५ई दुई हजार रुपैयाँमै खरिद गर्न सकिनेछ ।
नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले भित्र्याउन लागेको यो फोनमा १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहेको छ । जसमा आठ जीबी इन्टर्नल र्याम र ८ जीबी टर्बो र्याम समावेश छ ।
एन्ड्रोइड १३ र क्वालकम स्न्यापड्रागन ६८० मा आधारित यो फोन म्याजिक ओएस ७.२ मा चल्छ । पर्याप्त स्टोरेज भएको यो फोनले पर्फर्मेन्स पनि राम्रो दिने कम्पनीको दाबी छ ।
९० हर्जको रिफ्रेश रेट भएको ६.७ इन्चको एमोलेड डिस्प्ले रहेको यो फाेनको तौल जम्मा १६६ ग्राम छ । त्यस्तै यसमा ४५०० एमएएचको ब्याट्री दिइएको छ ।
कम्पनीले एक पटकको चार्जमा यो फोनले ४६ घण्टासम्ममा म्युजिक स्ट्रिमिङ, १३ घण्टाको भिडिओ प्लेब्याक, १४ घण्टासम्म छोटो भिडिओ क्लिप ब्राउजिङ र १७ घण्टा सोसल मिडिया ब्राउजिङ प्रदान गर्ने बताएको छ ।
यसमा कम्पनीले ३५ वाटको सुपरचार्ज प्रविधि राखेको छ । नेपाली बजारमा यो फोन ग्ल्यामरस ग्रिन, टाइटेनियम सिल्भर र मिडनाइट ब्ल्याक गरी तीन रङ्गमा आउनेछ ।
२६ फेब्रुअरीकै दिन यो फोनले बार्सलोनामा सुरु हुने मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) मार्फत विश्व बजारमा इन्ट्री गर्दैछ ।