close

सुरु भयो पब्जी मोबाइल सुपर लिग छनोट चरणको फाइनल खेल, ७ नेपाली टिम खेल्दै

टेकपाना टेकपाना

फागुन १८, २०८० १६:३९

सुरु भयो पब्जी मोबाइल सुपर लिग छनोट चरणको फाइनल खेल, ७ नेपाली टिम खेल्दै

काठमाडौं । ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४ साउथ एसिया क्वालिफायर’मा आजदेखि फाइनलको खेल हुने भएको छ । २१ देखि २५ फेब्रुअरीसम्म भएको समूह चरणको खेलबाट फाइनलका लागि छनोट भएका १६ टिम आजदेखि भिड्न लागेका हुन् । 

यो प्रतियोगिताको समूह चरणमा  २८ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अङ्क तालिकामा शीर्ष १६ भित्र रहेका टिमले फाइनलमा स्थान बनाएका छन् । फाइनलमा नेपाल र मङ्गोलियाका सात-सात टिम र बङ्गलादेशका दुई टिम भिड्दैछन् ।

नेपाली टिममा  ‘ट्राइब एरोमेसी’, ‘लियो ई-स्पोर्ट्स’, ‘रअ ई-स्पोर्ट्स’, ‘एफिप्टीवान’, ‘होरा ई-स्पोर्ट्स’, ‘डीएक्सटी’‘एलुमिनेट क्रु’ रहेका छन् । ‘ट्राइब एरोमेसी’ले समूह चरणमा अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । ‘लियो ई-स्पोर्ट्स’, ‘रअ ई-स्पोर्ट्स’, ‘एफिप्टीवान’ र  ‘होरा ई-स्पोर्ट्स’ क्रमश अङ्क तालिकाको चौथो, पाँचौ, छैटौंसातौं स्थानमा रहेका थिए । यो प्रतियोगितामा कुल १४ नेपाली टिम सहभागी थिए । जसमध्ये सात टिम बाहिरी सकेका छन् ।

फाइनलको खेल आज शुक्रबारदेखि आइतबार (१-३ मार्च) सम्म चल्नेछ । जसमा दिनको छ खेल गरी कूल १८ गेम खेलाइने छ । यो प्रतियोगिताको फाइनल सकिंदा अङ्क तालिकामा शीर्ष पाँचभित्र पर्ने टिमले ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४’ मा स्थान बनाउने छन् । ‘डीआरएस गेमिङ’ले ‘पीएमएसएल सीएसए २०२४’ आमन्त्रित टिम (Invite Team) को रूपमा खेल्ने पक्का भइसकेको छ ।

खेल नेपाली समय अनुसार दिउँसो ४:४५ देखि सुरु हुनेछ । जसको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ युट्युब च्यानलबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० १६:४०