close

विज्ञान प्रविधिको क्षेत्रमा नेपाल सरकारसँग छैन कुनै पनि राष्ट्रिय परियोजना

टेकपाना टेकपाना

फागुन २०, २०८० १५:५३

विज्ञान प्रविधिको क्षेत्रमा नेपाल सरकारसँग छैन कुनै पनि राष्ट्रिय परियोजना

काठमाडौं । विज्ञान तथा प्रविधि क्षेत्रमा सरकारका कुनै पनि राष्ट्रिय परियोजना सञ्चालनमा नरहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव इन्जिनियर प्रमिलादेवी शाक्य ब्रजाचार्यले यस्तो तथ्य उल्लेख गरेकी हुन् । 

आइतबार राजधानीमा आयोजित ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता र रोजगारीको अवसर’ नामक कार्यक्रममा सचिव बज्राचार्यले नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारहरू अत्यन्त न्यून रहेको तथा कार्यक्रम सञ्चालन गर्न पनि कानूनी जटिलता रहेको बताइन् ।

“विज्ञान विषय बहुआयामिक तथा प्रगतिशील छ । विज्ञान र अनुसन्धान हाम्रो जस्तो कम विकसित मुलुकका लागि लगानी गर्ने क्षेत्र होइन भन्ने सोचाइरहेको पाइन्छ,” उनले भनिन् । 

त्यस्तै उनले अनुसन्धान खरिदको प्रक्रियालाई सहज बनाउन सार्वजनिक खरिद ऐनमा अनुसन्धान खरिदको छुट्टै प्रावधान राख्न जरुरी भइसकेको समेत बताइन् । साथै अनुसन्धान तथा नवप्रवर्तनका लागि नियमनकारी भन्दा पनि फरक ढङ्गको प्रवर्द्धनकारी ऐन कानूनको आवश्यकता समेत उनले औंल्याइन् । 

यसका लागि विज्ञान तथा प्रविधि कोष सम्बन्धी विधेयकको मस्यौदा बनाउने काम मन्त्रालयले गरिरहेको सचिव बज्राचार्यले जानकारी दिइन् । जसलाई यसै आर्थिक वर्ष २०८०/८१ मा सक्ने तथा सङ्घीय संसदमा पेस गर्ने तयारी चलिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० १५:५३