close

फेसबुकमा मेसेज पठाई आईफोन किन्छु भन्दै क्याफेमा बोलाएर लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

टेकपाना टेकपाना

फागुन २३, २०८० १३:३१

फेसबुकमा मेसेज पठाई आईफोन किन्छु भन्दै क्याफेमा बोलाएर लुटपाट गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं । क्याफेमा बोलाएर लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमवार काठमाडौं न्यूरोडबाट भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापका २८ वर्षीय बिनोद सुन्दास र ओखलढङ्गाका ३७ वर्षीय प्रेम राई रहेका छन् ।

प्रहरीका अनुसार आइतवार राति पीडित सतिशसिंह कुँवरलाई फेसबुकमा मिलन लामाको आईडीबाट मेसेज आयो । सो आईडीबाट कुँवरकाे आईफोन र अन्य ग्याजेट खरिद गर्ने भन्दै मैतिदेवीस्थित ३२ क्याफेमा बोलाइयो । कुँवर पनि सामान बेच्न बोलाइएकै स्थानमा गए । अनि सामान हेरिसकेपछि एचएफ सेट र प्रहरीको नक्कली आईडी कार्ड देखाएर धम्की दिई आईफोन र अन्य ग्याजेट लुटियो ।

आफू लुटिएपछि पीडित कुँवरले प्रहरीलाई खबर गरे । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सो विषयमा भौतिक तथा प्राविधिक अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानबाट दोषी देखिएका चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूबाट प्रहरीले छ थान आईफोन, एप्पल सिरिज वाच थ्री, एप्पल वाच सिरिज फोर, दुई ओटा एन्ड्रोइड फोन, एयरपड्स र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र बरामद गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १३:३१