close

यस्ता छन् डिजिटल वालेटका ५ फाइदा

टेकपाना टेकपाना

फागुन २६, २०८० १२:५३

यस्ता छन् डिजिटल वालेटका ५ फाइदा

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या दुई करोड नाघिसकेको छ । इन्टरनेट तथा डिजिटल डिभाइसको सहज पहुँचका कारण वालेट प्रयोगकर्ताकाे संख्या बढेको हो ।

संख्या बढेपनि अझै धेरैले सक्रिय रुपमा डिजिटल वालेट चलाएका छैनन् । अर्कोतर्फ सहरीबाहेक अन्य क्षेत्रमा डिजिटल वालेट चलाउने माहोल बनिसकेको छैन । यसो हुनुको पछाडि डिजिटल भुक्तानीको फाइदा थाहा नभएर हुन सक्छ । आज हामी डिजिटल वालेटका पाँच फाइदाबारे चर्चा गर्दै छौं: 

भौतिक पर्स बोक्नु नपर्ने

डिजिटल वालेटको सबैभन्दा ठूलो पक्ष भनेकै भौतिक पर्स बाेकिरहनु पर्ने बाध्यता हट्नु हाे । तपाईंले पर्समा राख्ने पैसा आफ्नो मोबाइल वालेटमै राख्न सक्नुहुन्छ । 

डिजिटल वालेट प्रयोग नगर्दा मोबाइलसँगै पर्स पनि सँगै बोकेर हिँड्नुपर्ने बाध्यता हुन्छ, जुन कतिपय अवस्थामा झन्झटिलो हुन्छ । ती सबै अवस्था डिजिटल वालेट प्रयोग गर्दा हट्न सक्छ ।

कारोबार चाँडो हुने 

अहिलेको समयमा प्राय: हामीसँगै फोन हुने गर्छ । त्यसको अर्थ तपाईंको पैसा पनि सधैं तपाईंसँगै हुन्छ । अब कुनै वस्तु वा सेवा खरिद गरेपछि कारोबार गर्दा पर्सको साटो त्यही मोबाइल फोन प्रयोग गर्न सक्नहुन्छ । 

व्यस्त पसल अथवा धेरै भीड भएको कार्यक्रममा तपाईंले छिटो र सरल तरिकाबाट मोबाइलबाटै कारोबार सम्पन्न गर्न सक्नुहुन्छ । त्यहाँ खुद्रा पैसाको झन्झट हुँदैन । फेरि पैसा बारम्बार गन्नु पनि पर्दैन । 

बिर्सने बानीको समाधान

कहिलेकाँही कतै गइसकेपछि याद हुन्छ, ओहो ! मैले त पर्स ल्याउनै भुलेछु । त्यस्तोमा पर्स लिन फर्कनु अथवा बिना पैसा आफ्नो काम समाधान गर्नुको विकल्प हुँदैन । पर्स सधैं बोकिँदैन । तर फोन हरक्षण साथै रहन्छ ।  

यसकारण मोबाइल बिर्सेर पर्स बोकेर हिँड्नु अलि सम्भव हुँदैन । भन्नुको अर्थ, पर्स बिर्से पनि डिजिटल वालेट छ भने कारोबारका लागि कुनै पनि समस्या हुँदैन । यसो हुँदा पर्स बिर्सने बानीको दिक्दारीबाट मुक्ति पाइन्छ । 

हराउने वा चोरी हुने डरबाट मुक्त  

यदि पर्स हराए अथवा चोरी भए त्यहाँ भएको पैसा तेस्रो व्यक्तिले लैजाने निश्चित छ । तर मोबाइल वालेट चोरी हुने सम्भावना कम हुन्छ । 

यदि मोबाइल नै चोरी भएपनि चोरी गर्ने गर्ने व्यक्तिले मोबाइल वालेटमा सजिलै पहुँच पाउँदैनन् । किनकी पहिलो कुरा त मोबाइल फोनमा ‘लक’ राखिएको हुन्छ । त्यसमाथि मोबाइल वालेटबाट कारोबार गर्न पासवर्ड/पिन अनिवार्य हुन्छ, जुन तपाईंलाई मात्र थाहा हुन्छ ।

खर्च ट्रयाक गर्न सकिने 

आफ्नो खर्चको सजिलैसँग ट्रयाक गर्न सक्नु मोबाइल वालेटको विशेष फाइदा हो । मोबाइल वालेटबाट सजिलै आफ्नो आय, व्यय हेर्न सकिन्छ । जुन कुरा तपाईंले भौतिक पर्स हुँदा सजिलै गर्न सक्नुहुन्न । 

भौतिक पर्स प्रयोग गर्दा हिसाबकिताब हातैले तयार पार्नुपर्छ, या त सम्झनुपर्ने हुन्छ । तर मोबाइल वालेटमा ती सबै विवरण केही ट्यापमै भेट्न सकिन्छ । यसो हुँदा तपाईंले आफ्नो खर्च कहाँ-कहाँ भएछ भनेर थाहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १०:३५