close

अब आईफोनबाट एन्ड्रोइडमा डेटा सार्न सजिलो हुने

टेकपाना टेकपाना

फागुन २६, २०८० २१:४२

अब आईफोनबाट एन्ड्रोइडमा डेटा सार्न सजिलो हुने

काठमाडौं । एप्पलले आईफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा स्विच गर्न सजिलो बनाउने गरी तयारी थालेको छ । आईओएस र अन्य अपरेटिङ सिस्टमबीच डेटा ट्रान्सफरको प्रक्रिया सहज बनाउने काममा एप्पल अघि बढेको हो ।

युरोपियन युनियनको डिजिटल मार्केट्स ऐन (डीएमए) पालना गर्ने सन्दर्भमा एप्पलले यो काम गरिरहेको छ । हाल कम्पनीले आईफोनबाट अन्य अपरेटिङ सिस्टमका डिभाइस (विशेषगरी एन्ड्रोइडमा) डेटा ट्रान्सफर गर्न प्रयोगकर्तामैत्री तरिका बनाउन सक्रिय रूपमा काम गरिरहेको बताइएको छ ।

यसअन्तर्गत आईफोनबाट एन्ड्रोइडमा डेटा सार्ने सजिलो फिचर सन् २०२५ भित्र सार्वजनिक गर्ने कम्पनीकाे याेजनाको छ । तर डेटा कसरी ट्रान्सफर गरिन्छ भन्नेबारे जानकारी दिइएको छैन ।

यसका साथै एप्पलले एन्ड्रोइडका लागि आफ्नै स्विचिङ एप निर्माण नगरेर गुगलजस्ता कम्पनीलाई डेटा ट्रान्सफरका लागि आफ्नै एप बनाउन उपकरण दिइरहेको समेत बताइन्छ ।

हाल एन्ड्रोइडबाट आईओएसमा डेटा माइग्रेसन गर्न एप्पलले एन्ड्रोइडमा ‘मुभ टु आईफोन’ एप सञ्चालन गरिरहेको छ । त्यस्तै आईफोनबाट एन्ड्रोइड डिभाइसमा डेटा माइग्रेसन गर्न गुगलले ‘स्विच टु एन्ड्रोइड’ नामक आईओएस एप चलाइरहेको छ ।

तर यी दुवै एपमा मेसेज, वालपेपर, च्याट हिस्ट्री लगायतका डेटा सार्ने जस्ता कामका लागि आ-आफ्ना सीमितता रहेका छन् । ​एप्पलको नयाँ समाधानले यी समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० २१:५०