close

५,००० एमएएच ब्याट्री भएको साओमीको सस्तो फोन रेड्मी ए३ नेपालमा, मूल्य १२ हजार

टेकपाना टेकपाना

फागुन २८, २०८० १४:५०

५,००० एमएएच ब्याट्री भएको साओमीको सस्तो फोन रेड्मी ए३ नेपालमा, मूल्य १२ हजार

काठमाडौं । साओमीले आफ्नो सस्तो स्मार्टफोन रेड्मी एथ्रि नेपाली बजारमा भित्र्याएको  छ । आइतबार एक कार्यक्रम गर्दै कम्पनीले आफ्नो इन्ट्री लेभलको फोन सार्वजनिक गरेको हो ।

९० हर्ज रिफ्रेश रेट भएको यो फोनमा ६.७१ इन्च एचडी प्लस डिस्प्ले छ । डिस्प्ले सुरक्षाका लागि यसमा कोर्निङ गोरिल्ला ग्लास ३ दिइएको छ । एन्ड्रोइड १४ मा चल्ने यो फोनमा मिडियाटेक हेलियो जी ३६ चिपसेट राखिएको छ ।

यसको पछाडिपट्टि आठ मेगापिक्सेलको मुख्य र ०.०८ मेगापिक्सेलको अक्जिलरी लेन्स दिइएको छ । सेल्फी र भिडिओ कलका लागि फोनको अगाडि भागमा पाँच मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसबाट १०८० पिक्सेलको भिडिओ ३० एफपीएसमा रेकर्ड गर्न सकिन्छ । 

५००० एमएएच ब्याट्री रहेको यो फोन चार्ज गर्न कम्पनीले १० वाटको फास्ट टाइप-सी चार्जर दिन्छ । कम्पनीका अनुसार नेपालमा ग्लास ब्याक र लेदर टेक्स्चर ब्याक गरी दुई ओटा ब्याक डिजाइन भेरियन्टमा यो स्मार्टफोन उपलब्ध छ ।

यसमा साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि राखिएको छ । नेपाली बजारमा रेड्मी एथ्रि  फोन ओलिभ ग्रिन, मिडनाइट ब्ल्याक र लेक ब्लु गरी तीन ओटा कलर भेरियन्टमा खरिद गर्न सकिनेछ । 

नेपालमा तीन जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भरियन्टको रेड्मी एथ्रिको मूल्य ११ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टलाई भने १२ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १४:५०