close

तपाईंका लागि कुन एप उपयुक्त, ह्वाट्सएप वा ह्वाट्सएप बिजनेस ?

टेकपाना टेकपाना

फागुन २८, २०८० १५:११

तपाईंका लागि कुन एप उपयुक्त, ह्वाट्सएप वा ह्वाट्सएप बिजनेस ?

काठमाडौं । मेसेजिङ एपको चर्चा गर्दा ह्वाट्सएप शीर्ष स्थानमा आउँछ । सन् २००९ मा सार्वजनिक भएको यो प्लेटफर्ममा अर्बौं प्रयोगकर्ता जोडिएका छन् । 

तपाईंले गुगल प्लेस्टोर वा एप्पल आईओएस एप स्टोरमा ह्वाट्सएप सर्च गर्नुभयो भने एउटा ह्वाट्सएप मेसेन्जर र अर्को ह्वाट्सएप बिजनेस भन्ने दुई ओटा एप देख्न सक्नुहुन्छ । यी दुवै मेटाका प्लेटफर्म हुन् । 

यहाँनिर यी दुईमध्ये कुन डाउनलोड गर्ने भन्ने द्विविधा पनि हुन सक्छ । हुन त ह्वाट्सएपको मुख्य विशेषता भनेकै प्रयोगकर्तालाई एकअर्कासँग कुराकानी गर्न सघाउनु हो । ह्वाट्सएप बिजनेसले भने व्यवसायलाई आफ्ना ग्राहकसँग जोडिन, विभिन्न अफरहरूको बारेमा जानकारी दिन र उनीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सघाउँछ । 

त्यसोभए ह्वाट्सएप मेसेन्जर र ह्वाट्सएप बिजनेसमा के भिन्नता छ ? अनि यी दुईमध्ये तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

ह्वाट्सएप मेसेन्जरः व्यक्तिगत मेसेजिङ प्लेटफर्म

तपाईं साथीभाइ, परिवार वा केही बिजनेससँग व्यक्तिगत कुराकानी गर्न चाहनु हुन्छ भने तपाईंका लागि ह्वाट्सएप मेसेन्जर नै उपयुक्त प्लेटफर्म हो । यसमा विश्वभरका अर्बौं प्रयोगकर्तासँग जोडिएर तपाईं कुराकानी गर्न सक्नुहुन्छ ।

ह्वाट्सएप बिजनेसः व्यवसायीका लागि उपयुक्त 

तपाईं व्यवसायी हो र ह्वाट्सएपमार्फत आफ्ना ग्राहकसँग निरन्तर सम्पर्कमा रहिरहन चाहनु हुन्छ भने तपाईंका लागि ह्वाट्सएप बिजनेस उपयुक्त हुन्छ । यसलाई निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक यसलाई एपीआई मार्फत आफ्नो ‍वेबसाइटमै इन्टिग्रेट गर्न समेत सक्नुहुन्छ । सामान्य ह्वाट्सएपभन्दा यसमा केही अतिरिक्त सुविधाहरू हुन्छन् । 

व्यवसायीका लागि ह्वाट्सएपभन्दा ह्वाट्सएप बिजनेस किन राम्रो ?

तपाईं व्यवसायी हो र सयौं ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहिरहन चाहनु हुन्छ भने तपाईंले ह्वाट्सएप बिजनेस प्रयोग गर्न सक्नुहुन्छ । हुन त व्यक्तिगत ह्वाट्सएप अकाउन्टबाट समेत व्यक्तिगत ग्राहकसँग कुरा गर्न सम्भव नै हुन्छ । 

तर, पनि ह्वाट्सएप बिजनेसबाट गर्दा अतिरिक्त फाइदा लिन सक्नु हुन्छ । ह्वाट्सएप बिजनेस व्यवसायलाई केन्द्रित गरी तयार पारिएको प्लेटफर्म हो । 

त्यसैले यसमा सोही अनुसारका स्तरीय फिचर हुन्छन् । विशेषगरी स्वचालित मेसेज, स्तरीय ग्राहक अनुभव लगायतका फिचरहरू यो एपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि बिजनेस एपको 'बिजनेस टुल' भन्ने अप्सनमा जानुपर्ने हुन्छ । 

सुरक्षा र तत्काल सम्पर्कमा रहन दुवै एप उत्तिकै उपयोगी छन् । यी एपमा इन्ड-टु-इन्ड इन्सक्रिप्सन प्रोटोकल तथा प्रयोगकर्ताको सुरक्षालाई महत्त्व दिइएको छ । त्यस्तै प्रयोगकर्ताले यी एपबाट आफूले चाहेको व्यक्तिसँग तुरुन्तातुरुन्तै कुरा गर्न सक्छन् । 

प्रयोगकर्ताले व्यवसाय प्रवर्द्धन गर्नका लागि विशेषगरी मार्केटिङ अभियान, कारोबार सन्देश, कस्टमर सपोर्ट र ठगी रोक्न ह्वाट्सएप बिजनेस प्रयोग गर्न सक्नुहुन्छ । ह्वाट्सएप बिजनेसमा शुल्क तिरेर आफ्नो वस्तु तथा सेवाको विज्ञापन गर्न सकिन्छ । 

तर, ह्वाट्सएप मेसेन्जरमा यस्तो सुविधा हुँदैन । पछिल्लो समय ह्वाट्सएपले बिजनेस अकाउन्टलाई मात्र ह्वाट्सएप च्यानलको सुविधा दिएको छ । यसको अर्थ व्यक्तिगत अकाउन्टबाट च्यानल बनाउन सकिंदैन ।  

ह्वाट्सएप र ह्वाट्सएप बिजनेस दुवै निःशुल्क इन्स्टल गरेर प्रयोग गर्न सकिने एप हुन् । यी एप प्रयोग गर्न सेलुलर डेटा वा वाईफाई आवश्यक पर्छ । ह्वाट्सएप बिजनेसको सन्दर्भमा भने एउटै नम्बरबाट खोलिएको अकाउन्टलाई पनि दुई वा दुईभन्दा बढी अन्य प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । 

यदि व्यक्तिगत प्रयोजनका लागि ह्वाट्सएप प्रयोग गर्दै हुनुहुन्छ र त्यसका लागि ह्वाट्सएप बिजनेस इन्स्टल गर्नुभयो भने तपाईंले अनावश्यक फिचरहरू देख्न सक्नुहुन्छ । तर, व्यवसायिक प्रयोजनका लागि भने तपाईंले उपयुक्त हुने फिचर प्रयोग गर्ने मौका पाउन सक्नुहुन्छ । 

समग्रमा ह्वाट्सएप मेसेन्जर व्यक्तिगत प्रयोजनका लागि हो भने ह्वाट्सएप बिजनेस व्यवसायिक प्रयोजनका लागि हो ।

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १५:११