close

भेरिफाइड फेसबुक पेजमाथि ह्याकरको आक्रमण, जोगिने कसरी ?

टेकपाना टेकपाना

चैत १४, २०८० ९:२९

भेरिफाइड फेसबुक पेजमाथि ह्याकरको आक्रमण, जोगिने कसरी ?

काठमाडौं । केही दिनअघि नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेजमा असान्दर्भिक पोस्ट स्टोरीका रूपमा शेयर भएको थियो । भेरिफाइड ब्याज (ब्लु टिक) मार्क रहेको उक्त फेसबुक पेजमा त्यसरी असान्दर्भिक पोस्ट शेयर भएको लामो समयसम्म पनि नहटेपछि ह्याक भएको अनुमान लगाउन गाह्रो भएन । 

तीन लाख २२ हजार बढी लाइक भएको उक्त फेसबुक पेजबाट विदेशी नाम भएको अकाउन्ट फलो गरिएको थियो । त्यसबाहेक सो पेजमा अरू केही परिवर्तन गरिएको थिएन ।

त्यस्तै हालै मात्र चर्चित म्युजिक ब्यान्ड १९७४ एडीको आधिकारिक फेसबुक पेज पनि ह्याकरको निसानामा पर्‍यो । ह्याकरले उक्त पेजबाट अनावश्यक पोस्ट राख्न थाले ।

उनीहरू विभिन्न फेसबुक अकाउन्टलाई ट्याग गर्दै पेज उसैले ह्याक गरेको भन्ने दाबी गरिरहेका थिए । त्यसबाहेक पनि हरेक मिनेटमा नयाँ-नयाँ पोस्ट राख्ने, प्रोफाइल तथा कभर फोटो बारम्बार परिवर्तन गर्ने काम गरिरहेका थिए । 

करिब एक लाख २२ हजार बढी फलोअर भएको सो पेज ह्याक भएको थाहा पाएपछि उक्त पेज अनफलो गर्नेहरू बढे । हाल सो पेजमा एक लाख १६ हजार फलोअर छन् । केही दिन ह्याकरको कब्जामा रहेको उक्त पेज पनि पछि फिर्ता आयो । 

भेरिफाइड फेसबुक पेज ह्याक भएका सन्दर्भ जोडिरहँदा पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्लको पेज पनि अगाडि आउँछ । ह्याकरले मल्लको एक लाख २१ हजार बढी फलोअर भएको भेरिफाइड पेज आफ्नो कब्जामा लिएका थिए ।

ह्याक भएका अन्य फेसबुक पेजमा ह्याकरले त्यस्तो केही परिवर्तन गरेका थिएनन् । तर, ह्याकरले मल्लको पेजको नाम भने परिवर्तन गरेका थिए । हाल उक्त पेजको नाम ‘योर प्रोफाइल ह्याज कपिराइट इस्यु, सी ह्वाई’ (Your Profile Has copyright Issue, see why) राखिएको छ ।

मल्लको सामाजिक सञ्जाल व्यवस्थापन गर्ने जिम्मा पाएका व्यक्तिका अनुसार हाल उनको अकाउन्ट फिर्ता आइसकेको छ । तर, नाम परिवर्तन गरेको ६० दिनभित्र नयाँ नाम राख्न नमिल्ने फेसबुक नीतिका कारण नयाँ पोस्ट नराखेको र नाम परिवर्तन नगरेको बताइएको छ । 

युवाहरूमाझ चर्चित र्‍यापर चिराग खड्का (५ः५५) को भेरिफाइड फेसबुक पेज पनि ह्याकरको कब्जामा छ । तीन लाख २८ हजार बढी फलोअर रहेको सो फेसबुक पेजमा खड्काले पहिले राखेको कभर र प्रोफाइल पिक्चर केही पनि परिवर्तन गरिएको छैन । तर, त्यसमा र्‍यापर खड्कासँग सम्बन्धित कुनै पनि भिडिओ वा पोस्ट छैनन् ।

त्यसबाहेक प्रयोगकर्ताले रमाइलो मानेर हेर्ने विदेशी क्रियटरको भिडिओ मात्र पोस्ट भइरहेका छन् । खड्कासँग सम्बन्धित नै नभएका पोस्ट देखेपछि उनका समर्थकले बारम्बार किन त्यस्ता सामाग्री पोस्ट भइरहेका छन् भन्दै गुनासो गर्ने गरेका छन् । सो पेजको पेज ट्रान्सप्यारेन्सीमा एक जनाले अमेरिकाबाट व्यवस्थापन गरिरहेको देख्न सकिन्छ । 

किन निशानामा पर्छन् भेरिफाइड फेसबुक पेजहरू ?

भेरिफाइड फेसबुक पेज कुनै ब्रान्ड, चर्चित व्यक्ति वा व्यवसायले मात्रै पाउँछन् । यद्यपि फेसबुक अकाउन्टका सन्दर्भमा भने अहिले जोकोहीले भेरिफाइड मार्क खरिद गर्न सक्छन् । त्यसरी फेसबुकबाट अधिकारिकता प्राप्त गर्ने फेसबुक पेजमा राम्रो सङ्ख्यामा फलोअर हुन्छन्, ती पेजमा राम्रो इङ्गेजमेन्ट हुन्छ । र, त्यस्ता पेजका सामग्रीलाई प्रयोगकर्ताले विश्वास गर्छन् ।

यही कुराको फाइदा उठाउँदै ह्याकरले भेरिफाइड फेसबुक पेजलाई आफ्नो टार्गेटमा राख्छन् । त्यसबाहेक यस्ता पेज किन ह्याकरको निसानामा पर्छन् भन्ने चर्चा तल गरिएको छ । 

प्रभाव 

माथि भनिएको जस्तै फेसबुकबाट अधिकारिकता पाएका फेसबुक पेजको मूल्य (भ्यालु) नै बढी हुन्छ । ती पेजबाट राखिएका सामग्री प्रयोगकर्ताले सहजै विश्वास गर्छन् । अर्थात् यस्ता पेजको प्रभाव राम्रो पर्छ । आफ्नो लक्ष प्राप्ति (जस्तै ठगी गर्न, गलत सन्देश प्रवाह गर्न, हानिकारक लिङ्क फैलाउन) का लागि ह्याकरले यस्ता पेजको सहायता लिन्छन् । 

डेटा र महत्त्वपूर्ण सूचनामा पहुँच

भेरिफाइड फेसबुक पेजमा निकै संवेदनशील सूचनाहरू हुने गर्छन् । विशेषगरी अडियन्सले पेज भेरिफाइड भएको देखेपछि त्यस्ता पेजमा संवेदनशील विवरण उपलब्ध गराएका हुन्छन् । चर्चित ब्रान्डको फेसबुक पेज छ भने त्यसमा ग्राहकका महत्त्वपूर्ण सूचना अन्य किसिमका डेटाहरू हुन सक्छन् । तिनै डेटामा पहुँच पाउन पनि ह्याकरले यस्ता भेरिफाइड पेजलाई आफ्नो निशाना पार्छन् ।

चरित्रहत्या 

पछिल्लो समय फेसबुक पेज वा अकाउन्ट ह्याक गर्ने र त्यसको स्टोरी वा टाइमलाइनमा अश्लील सामग्री राख्ने प्रवृत्ति बढेको छ । यसरी अश्लील जस्तो देखिने सामग्री राख्नुका पछाडि विभिन्न कारणहरू हुन्छन् । त्यसमा मुख्य कारण चरित्रहत्या हो । भेरिफाइड पेजबाटै त्यस्ता अश्लील सामग्री पोस्ट भएका छन् भने अडियन्समाझ उक्त पेज जसको हो उसलाई हेर्ने नजर नै फरक हुन्छ ।

त्यसबाहेक अश्लील जस्तो देखिने सामग्री राख्दा लिङ्कमा क्लिक गर्ने प्रयोगकर्ता पनि हुन्छन् । त्यस्ता लिङ्कमा प्रयोगकर्तालाई क्लिक गराएर डेटा चोरी गर्न वा अकाउन्ट ह्याक गर्न यस्ता पेजमा अश्लील सामग्री राख्ने गरेको पाइन्छ । त्यसबाहेक पेजमा रेस्ट्रिक्सन ल्याएर पेजको इङ्गेजमेन्ट घटाएर बदला लिनका लागि पनि त्यस्ता सामग्री पोस्ट गर्ने गर्छन् । 

आर्थिक लाभ

आर्थिक लाभका लागि पनि भेरिफाइड फेसबुक पेज ह्याकरको निशाना पर्छन् । भेरिफाइड फेसबुक पेज मूल्यवान हुन्छन् । त्यसमा हुने फलोअर, पोस्टको इङ्गेजमेन्ट, र अन्य विषयले गर्दा त्यस्ता पेजको शुल्क पनि बढी हुन्छ । ती फेसबुक पेजमा मानिस, ब्रान्ड वा व्यवसायको प्रतिष्ठा, लगाव अन्य पक्षहरू जोडिएका हुन्छन् ।

ती नगुमाउन उक्त पेज सञ्चालक जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन् । सबैको हकमा यो लागू नहुन पनि सक्छ । त्यसैले ह्याकरले यस्ता पेज कब्जामा लिन्छन् र ब्ल्याकमेल गरेर विभिन्न बाहनामा रकम असुल्छन् । 

सानका लागि

सिकारु ह्याकरले आफ्नो सानका लागि पनि भेरिफाइड फेसबुक पेज ह्याक गर्ने गर्छन् । म्युजिक ब्यान्ड १९७४ एडीको फेसबुक पेज ह्याक त्यसैको एक उदाहरण हो । सो पेज कब्जामा लिने समूहले पोस्टमार्फत नेपाली ह्याकरलाई पेज फिर्ता लिन चुनौती नै दिएका थिए । सामान्य अर्थमा भन्नुपर्दा सिकारु ह्याकरले आफ्नो सीप प्रदर्शन गर्न पेज ह्याक गर्छन् र आफ्नो प्रचारका लागि प्रयोग गर्छन् ।

पेजको इङ्गेजमेन्टबाट आम्दानी गर्ने लक्ष

फेसबुकले नेपालमा पेजबाट प्रत्यक्ष आम्दानी गर्ने विकल्प (पेज मोनिटाइजेसन) उपलब्ध गराएको छैन । तर, अधिकांश कन्टेन्ट क्रियटरले नेपाली कन्टेन्ट राखेर आम्दानी गर्न पेज नेपाल बाहिरबाट सञ्चालन गरिरहेका हुन्छन् ।

भेरिफाइड फेसबुक पेजमा अडियन्सको इङ्गेजमेन्टबाट लोभिएका ह्याकरले आम्दानीका लागि त्यस्ता पेज कब्जामा लिन्छन् । ती पेजको लोकेसन परिवर्तन गर्छन् र पेज मोनिटाइजेसन गरी आम्दानी गर्छन् । र्‍यापर ५ः५५ को भेरिफाइड फेसबुक पेज ह्याक यसैको एउटा उदाहरण हो । यद्यपि उनको सो पेजमा हालसम्म मोनिटाइजेसन अन गरिएको छैन । 

मालवेयर फैलाउन

ह्याकरले मालवेयर लिङ्क फैलाउन भेरिफाइड फेसबुक पेज कब्जामा लिन्छन् । भेरिफाइड पेजलाई अडियन्सले विश्वास गर्ने भएकाले त्यस्ता हानिकारक लिङ्क फैलाउन उनीहरूलाई सहज हुन्छ । अर्थात् भेरिफाइड पेजबाट देखिएका लिङ्क क्लिक नगर्ने कमै हुन्छन् । जति धेरैले त्यस्ता लिङ्कमा क्लिक गरी उनीहरू ह्याकरको पासोमा पर्छन् । ह्याकरले सामान्य प्रयोगकर्तालाई आफ्नो जालोमा पारेर संवेदनशील डेटा चोरी गर्न, बैंक अकाउन्ट रित्याउन, डिभाइसमा भाइरस फैलाउन यस्ता पेजको प्रयोग गर्छन् । 

अरू फेसबुक पेज ह्याक गर्न 

क्रिकेटर ज्ञानेन्द्र मल्लको पेज ह्याक गरेर त्यसमा जुन नाम राखिएको छ त्यसको छुट्टै अर्थ छ । उक्त पेज व्यवस्थापन गर्नेले तत्कालै पहल गर्दा उक्त पेज ह्याकरको कब्जाबाट फिर्ता भयो । तर, त्यसरी ह्याक गरेर नाम परिवर्तन भएको पेजबाट ह्याकर अन्य विभिन्न पेजका पोस्टहरू शेयर गर्छन् । जसको क्याप्सनमा ‘तपाईंको पेजले फेसबुकको नीति उलङ्घन गरेको छ र केही समयमै यो पेज फेसबुकबाट हट्दैछ ।

यदि फेसबुक पेज त्यसो नहोस् भन्ने चाहनु हुन्छ भने तलको लिङ्कमा क्लिक गरेर अपिल गर्नुहोस्’ भनिएको हुन्छ । उक्त पेजबाट जसको फेसबुक पेजलाई मेन्सन गरिएको छ वा पोस्ट शेयर गरिएको छ त्यसको नोटिफिकेसनमा साँच्चिकै फेसबुकले नै उक्त नोटिफिकेसन पठाएको जस्तो देखिन्छ ।

यसमा भेरिफाइड भएको फेसबुक पेज छ भने सर्वसाधारण फेसबुक प्रयोगकर्ता झुक्किन्छन् । त्यसरी नोटिफिकेसनमार्फत आधिकारिक जस्तो देखिने अकाउन्टमा भएको लिङ्कमा फेसबुक प्रयोगकर्ता साइनअप गर्न खोज्छन् । र, साइनअप गरिसकेपछि उक्त पेज ह्याकरको कब्जामा जान्छ । 

फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?

- पेजमा जोकोहीलाई एड्मिन, इडिटर वा मोडेरेटरको रोल नदिनुहोस् । (पेजको पहुँच पाउनेलाई अनावश्यक व्यक्ति एड नगर्न सुझाव दिनुहोस् ।)  

-  फेसबुक अकाउन्ट र ईमेलमा टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् । र, कडा पासवर्ड राख्नुहोस् । कम्तीमा पनि हरेक महिना पासवर्ड परिवर्तन गर्न उपयुक्त मानिन्छ । 

- डिभाइसमा इन्स्टल गर्ने नयाँ एपले माग्ने पर्मिसन ख्याल गर्नुहोस् । यदि तपाईंले इन्स्टल गरेको एपले अनावश्यक पर्मिसन मागेको छ भने नदिनुहोस् । 

- जुनसुकै माध्यमबाट प्राप्त भएका अनावश्यक लिङ्कहरू क्लिक नगर्नुहोस् । 

- पेजमा विज्ञापन राखेवापत हप्तामा लाखौं रुपैयाँ दिने भन्दै मेसेज पठाउने स्क्यामर हुन्छन् । त्यस्ता मेसेज बेवास्ता गर्नुहोस् र मेसेज तुरुन्तै हटाउनुहोस् । उनीहरूले बिजनेस अकाउन्टमा आफ्नो ईमेल एड गर्न लगाउँछन् र पछि तपाईंको ईमेल हटाएर पेजको मुख्य एक्सेस नै आफूले लिन्छन् । 

- लगइन अलर्ट राख्नुहोस् । 

- सार्वजनिक डिभाइसमा भरसक आफ्नो फेसबुक अकाउन्ट लगइन नगर्नुहोस् । यदि गर्नै परे अन्तिममा लगआउट गर्नुहोस् र आफ्नो डिभाइसबाट नयाँ पासवर्ड सेट गर्नुहोस् । 

- फेसबुक पेज व्यवस्थापन गर्न ‘फेसबुक बिजनेस मेनेजर’ प्रयोग गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८० १९:२८