काठमाडौं । नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयले आइतवार (आज) हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक गरेको हो ।
अहिले उत्पादित हाइड्रोजनलाई कारमा राखिएको छ । विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा उपप्राध्यापक डा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो ।
लामो समयको प्रयासपछि विश्वविद्यालयले हाइड्रोजन उत्पादनमा सफलता प्राप्त गरेको छ । यस कार्य सफल गर्नु सगरमाथा चढनु सरहको अनुभव भएको डा. थापाले प्रतिक्रिया दिए । अविरल र अथक प्रयासपछि पाएको यस सफलताले विधिवत् रुपमा हाइड्रोजन युगमा नेपाललाई प्रवेश गराएको उनको भनाइ छ ।
“विश्वविद्यालयले नै भएपनि हाइड्रोजन उत्पादन गरेर, भण्डारण गरेर, गाडीमा रिफिलिङ गर्ने काम सफलतापूर्वक गरेका छाैं । उक्त हाइड्रोजन नेपालकै जलविद्युत र पानी प्रशोधन गरेर तयार पारिएको हो,” उनले भने ।
अब औपचारिक रुपमा कार्यक्रम गरेर यस रिफिल स्टेसनको उद्घाटन गर्ने उनले बताए । साथै अब हाइड्रोजनको व्यावसायिक प्रयोगमा जोड दिने र त्यसका लागि आवश्यक पर्ने नीति निर्माणका काममा सरकारलाई घच्घचाउने उनले उल्लेख गरे ।
भिडिओ
स्रोतः विराजसिंह थापा
सम्बन्धित समाचार
नेपालमै पहिलोपटक यसरी हुँदैछ हाइड्रोजन उत्पादनको तयारी (भिडिओ सहित)
हाइड्रोजन कार चलाउन नेपालकै पानी र बिजुलीबाट इन्धन तयार पारिँदै
नेपाल आयो पहिलो हाइड्रोजन कार, तर सडकमा गुडाउन नम्बर प्लेट पाउने कानून छैन
पछिल्लो अध्यावधिक: चैत १९, २०८० १२:१०
