काठमाडौं । काठमाडौं महानगरपालिकाले मोबाइल एप डेभलपमेन्ट सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । सोमबार सामाजिक सञ्जालमा पोस्ट राख्दै महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले तालिमका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् ।
“काठमाडौं महानगरपालिकाद्वारा आयोजित, ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ अन्तर्गत मोबाइल गेम डेभलपमेन्ट तालिमको लागि आवेदन लिइरहेका छौं,” उनले लेखेका छन्, “इच्छुक व्यक्तिले तल दिएको फाराम भरेर आफ्नो सिट सुरक्षित गर्नुहोस् ।”
यहाँ क्लिक गरेर तालिमका लागि आवेदन फाराम भर्न सकिनेछ । फारम खुलिसकेपछि त्यहाँ सोधिएका विवरण राख्नु पर्ने हुन्छ । फारम भर्दै जाँदा अन्तिममा ‘सफ्टवेयर डेभलपमेन्ट’ तालिम छान्नुपर्ने हुन्छ ।
त्यसपछि सफ्टवेयर डेभलपमेन्टका पनि विभिन्न क्षेत्रहरू उल्लेख गरेको अप्सन देखिन्छ । त्यसमा ‘गेम डेभलपमेन्ट’ अप्सन छान्नुपर्नेछ । यति विवरण राखिसकेपछि ‘सब्मिट’ (Submit) को बटन ट्याप गरी फारम बुझाउन सक्नुहुन्छ ।
अहिले माग सङ्कलन भइरहेको र पर्याप्त माग आएपछि तालिम कति समय कसरी सञ्चालन हुने भन्ने तय गरिने महानगरले जनाएको छ । यस विषयमा थप जानकारी आवश्यक परे ९८४१५१६८३८ मा सम्पर्क गर्न सकिनेछ ।