काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आगामी १३ जेठमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा सङ्गोष्ठी आयोजना गर्न लागिएको हो ।
उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौं विश्वविद्यालयहरुमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन् ।
सङ्गोष्ठीमा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी करिब १०० विज्ञहरुले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सङ्गोष्ठी ‘हाइब्रिड मोड’मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्स्, हात्तीवनमा उपस्थित भएर आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यस कार्यक्रममा सहभागी हुन २० मार्चसम्म दर्ता गर्नु पर्नेछ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।