काठमाडौं । सवारी चालक अनुमति पत्रका लागि आवश्यक सङ्ख्यामा स्मार्ट कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ । आइतबार सार्वजनिक महालेखाको ६१ औं प्रतिवेदन अनुसार यातायात व्यवस्था विभागले विदेशी कम्पनीसँग सम्झौता गरेअनुसारको स्मार्ट कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको हो ।
“विभागले एक विदेशी कम्पनीसँग २०८०।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको छ,” प्रतिवेदनमा भनिएको छ, “सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भएको छ ।”
सवारी चालक अनुमतिपत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुने भएकोले दुई लाख ६० हजार कार्ड अपुग हुने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमतिपत्र छपाइ नभएको महालेखाको भनाइ छ ।