काठमाडौं । युट्युब च्यानल कति ठूलो छ भनेर मापन गर्ने एउटा तरिका हो, सब्सक्राइबरको संख्या । जति धेरै सब्सक्राइबर, उति ठूलो च्यानल । यसमानेमा भारतको टी-सिरिज सबैभन्दा ठूलो युट्युब च्यानल हो । भारतीय संगीत रेकर्ड लेबल र फिल्म निर्माण कम्पनी टी-सिरिज सबैभन्दा धेरै हेरिएको र सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल हो । सन् २००६ देखि सक्रिय यस च्यानलमा २६ करोड ६० लाख (२६६ मिलियन) बढी सब्सक्राइबर तथा २५६ अर्ब बढी भ्यूज रहेका छन् ।
अहिले यही च्यानललाई सब्सक्राइबरको हिसाबले मिस्टर बिस्ट च्यानलले जित्ने आँकलन गर्न थालिएको छ । अमेरिकी नागरिक जिमी डोनाल्डसनले सञ्चालन गरिरहेको यो च्यानल सबैभन्दा बढी सब्सक्राइबर हुनेमा दोस्रोमा पर्छ । सन् २०१२ देखि सक्रिय यस च्यानलमा २६ करोड ५० लाख सब्सक्राइबर रहेका छन् ।
लाइभ सब्सक्राइबर गन्ती गर्ने विभिन्न टुलका अनुसार अहिले यी दुई च्यानलबीच करिब १३ लाखको भिन्नता छन् । त्यस्तै सो भिन्नता द्रुत गतिमा घटिरहेको छ । यस अर्थमा अब केही सातामा नै मिस्टर बिस्टले टी-सिरिजलाई उछिन्ने आँकलन गर्न थालिएको हो ।
अहिले इन्टरनेटको दुनियाँमा यी च्यानलको प्रत्यक्ष सब्सक्राइबरको गन्तीहरू पनि थुप्रै भेटिन्छन् । ‘मिस्टर बिस्ट भर्सेस टी-सिरिज’ लेखेर सर्च गर्ने हो भने यस सम्बन्धी विभिन्न नतिजा भेटिन्छन् ।
यसअघि पनि मिस्टर बिस्टले युट्युबमा व्यक्तिगत रुपमा सबैभन्दा धेरै सब्सक्राइबर भएको रेकर्ड तोडेको थियो । मिस्टर बिस्टले स्विडिस युट्युब च्यानल प्युडीपाईलाई नोभेम्बर २०२२ मा उछिनेका थिए । जुन आज पर्यन्त कामय छ । यसैबीच अब समग्रमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल मिस्टर बिस्ट बन्न सक्ने सम्भावना चुलिएको हो ।
विशेष गरेर 'मिस्टर बिस्ट' च्यानल नगद तथा अन्य वस्तुको पुरस्कार र परोपकारी कार्य देखाउने भिडिओका लागि चर्चित छ । मनोरञ्जनात्मक भिडिओ सामग्री र दर्शकहरूसँग लगातार जोडिरहने भएकाले यो च्यानललाई ठूलो सफलता मिलेको बताइन्छ ।
फ्यानहरूले भने यी दुई च्यानललाई राष्ट्रियतासँग जोडेर हेर्न थालेका छन् । यसमा मिस्टर बिस्टले गत वर्ष नै सामाजिक सञ्जाल एक्समार्फत देश-देशबीच केही नहुने र आफ्ना भारतीय फ्यानलाई पनि उतिकै प्रेम गर्ने बताइसकेका छन् । यसका साथै उनले आफ्ना फ्यानहरूलाई यस्तो नगर्न सुझाएको बिजनेस इन्साइडरले लेखेको छ ।
नेपालमा समेत मिस्टर बिस्टका उल्लेख्य फ्यान फलोअर छन् । यसअघि एक नेपाली अस्पताल मर्मत गर्न उनको टोली नेपाल आएको थियो ।