काठमाडौं । एआईबाट बनाइएका लघु चलचित्रलाई पनि फिल्म फेस्टिभलमा सहभागी गराइने भएको छ । ओपनएआईको टेक्स्ट टु भिडिओ मोडेल सोराबाट बनाइएका लघुचलचित्रलाई अमेरिकामा हुने दी ट्रिबेका फिल्म फेस्टिभलमा प्रदर्शन गरिने भएको हो ।
ट्रिबेकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन रोजेन्थलले ओपनएआईसँग सहकार्य गरी फेस्टिभलमा लघुचलचित्र समावेश गर्न लागिएको जानकारी दिएका छन् ।
फेस्टिभलमा देखाइने लघुचलचित्र निर्माण गर्न बोनी डिसेपोलो, एली फाउम्बी, निक्यातु जुसु, रेजा सिक्सो सफाई र माइकला टेर्नास्की-हल्याण्डलाई सोराको पहुँच दिइएको थियो । उनीहरू विभिन्न पुरस्कार विजेता चलचित्रकर्मी र ट्रिबेका फेस्टिभलका पूर्व विद्यार्थी हुन् । सोराबाट उनीहरूलाई लघुचलचित्र बनाउन केही हप्ता मात्र दिइएको थियो । निश्चित आचारसंहितामा रहेर उनीहरूले लघुचलचित्र बनाएका छन् ।
यो फेस्टिभल ५ देखि १६ जुनसम्म न्यू योर्कमा हुनेछ । एआईबाट बनाइएका यी लघुचलचित्र आउँदो १५ जुनमा देखाइने बताइएको छ ।
के हो सोरा ?
लिखित निर्देशनकै भरमा आश्चर्यचकित पार्ने किसिमको भिडिओ तयार बनाइदिने एआई मोडेल नै सोरा हो । यो एक प्रकारको जेनेरेटिभ एआई मोडल हो । यसमा प्रम्ट (लिखित निर्देशन) का माध्यमबाट ६० सेकेन्डसम्मका वास्तविक र कल्पना गरे अनुसारका भिडिओ बनाउन सकिन्छ ।
हाललाई यो टुल केही अनुसन्धानकर्ता र क्रियटरहरूमा सीमित गरिएको छ । यद्यपि ओपनएआईले केही चलचित्रकर्मीसँग सहकार्य गरेर म्युजिक भिडिओ पनि बनाइसकेको छ ।