काठमाडौं । एडब्लकर प्रयोग गरेर भिडिओ हेर्ने प्रयोगकर्तालाई निरुत्साहन गर्न युट्युबले नयाँ रणनीति अपनाएको छ । यसअघि पनि एडब्लकरप्रति कडा रूपमा उत्रिएको युट्युबले अहिले भने भिडिओ स्किप गरेर अन्तिममा पुर्याउन थालेको हो ।
टेकस्पटका अनुसार पछिल्लो अपडेटमा युट्युबले एडब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई भिडिओ स्किप गरिदिने सजाय दिन थालेको छ । एडब्लकर विरुद्ध युट्युब निरन्तर लडाइँमा छ । विशेषगरी एडब्लकर प्रयोग गर्ने प्रयोगकर्ताको भिडिओ ढिलो चल्ने, सीमित भिडिओ मात्र देखाउने, भिडिओ नै चल्न नदिने हत्कन्डा युट्युबले अपनाएको थियो ।
अहिले भने कम्पनीले एडब्लकर प्रयोगकर्तालाई निरुत्साहन गर्ने नयाँ तरिका अपनाएको हो । एक प्रयोगकर्ताले आफूले एडब्लकर प्रयोग गरी भिडिओ हेर्दा युट्युबले कस्तो सजाय दियो भन्ने विषयमा रेडिटमा भिडिओ पोस्ट गरेका छन् । सो भिडिओमा प्रयोगकर्ताले भिडिओ सुरुमा प्ले गर्दा पनि अन्तिममा पुगेको देखिएको छ ।
सोही रेडिट पोस्टमा कमेन्ट गर्दै अन्य प्रयोगकर्ताले भने युट्यबमा भिडिओ हेर्दा अडियो नबजेको गुनासो गरेका छन् । “एडब्लकर निष्क्रिय पार्दा अडिओ आउँछ, सक्रिय गर्यो भने अडियो नै गायब हुन्छ,” एक प्रयोगकर्ताले कमेन्ट मार्फत गुनासो पोखेका छन् ।
गुगलले युट्युब प्रिमियमलाई प्राथमिकता दिन यस्तो बाध्यात्मक परिस्थिति सिर्जना गरेको बताइएको छ । विशेषगरी विज्ञापन बिना युट्युबमा भिडिओ हेर्न सकिने भन्दै कम्पनीले एडब्लकरको साटो प्रिमियम सेवा लिन जोड गर्दै आएको छ ।
भिडिओ स्किप हुने समस्या एडब्लक, एडब्लक प्लस, यूओरिजिन लगायतका एक्सटेन्सन प्रयोग गर्ने प्रयोगकर्ताले सामना नगरेको बताइएको छ । गत जनवरीमा यी एक्सटेन्सन प्रयोग गर्ने प्रयोगकर्ताले पनि भिडिओ प्ले गर्दा समस्या आएको गुनासो गरेका थिए । पछि एडब्लकिङको सफ्टवेयरमा बग भएको भन्दै सो समस्या समाधान गरेपछि ती प्रयोगकर्ताले निर्धक्क भिडिओ हेर्न पाएका थिए ।
सुरुवातमा गुगलले युट्युब भिडिओमा आउने विज्ञापन रोक्न एडब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई पपअप नोटिफिकेसन मार्फत प्रिमियम सेवा लिन सुझाव दिंदै आएको थियो ।